१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शुन्य समयमा सांसदहरुले उठाए सहकारी र सुन प्रकरणका कुरा

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन्।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकोले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन्। बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अजयकुमार चौरसियाले गृहमन्त्री लामिछानेको राजीनामा माग गरे। उनले सहकारी ठगि र सुन तस्करीमा मुछिएका व्यक्तिहरु सरकारमा रहेको भन्दै दुवैको राजीनामाको माग गरे। उनले सरकारले किसानलाई उन्नत जातको बिउ, मलखाद, सिंचाइँको प्रवन्ध गर्न नसकेको बताए।

उनले भने, ‘सहकारी पीडितहरु आन्दोलनमा हुनुहुन्छ। सरकार सहकारीबाट ठगि एवं सुन तस्करीमा मुछिएका व्यक्तिहरु सरकारमा हुनुहुन्छ। म अविलम्व राजीनामा दिन माग गर्न चाहन्छु। कृषि, रोजगार, स्वास्थ्य र शिक्षाको उन्नति बिना कुनैपनि राष्ट्रको उन्नति हुन सक्दैन। तैपनि सुधारको केही गर्न नसकेको अवस्था छ। नचाहेको अवस्था पनि छ। किसानलाई उन्नत जातको बिउ, मलखाद, सिचाइँको समुचित प्रवन्ध गर्न नसक्ने सरकार छ।’

प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले सुन काण्ड र सहकारी काण्डका मन्त्रीहरुको नाम मिडियाबाट मेटाउन गठबन्धन भएको टिप्पणी गरिन्। उनले विवादित विषयमा मन्त्रीहरुले सदनलाई स्पष्ट पार्नुपर्ने बताइन्।

उनले भनिन्, ‘सुन काण्ड, सहकारी काण्डका मन्त्रीहरुको नाम मिडियाबाट कसरी मेटाउने भन्ने बारेमा पो गठबन्धन भएको रहेछ। यि मन्त्रीहरुले यो सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने कि नपर्ने ? म प्रश्न गर्दछु।’

प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले बैंकहरुले ऋण लगानी गरेवापत चर्को ब्याज असुली गरिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘बैंक, वित्तिय संस्थाहरुले जथाभावि रुपमा लगानी गरेर ऋणीलाई उठिबास लगाएको सर्वविदित नै छ। साँवा, ब्याज फिर्ता पाउँ भनि यसका विरुद्ध पीडितहरुले आन्दोलन गरीरहेका छन्। एकातिर कुनै व्यक्तिले कपाली तमसुक गरी ऋण दिएमा दश प्रतिशत ब्याज असुली गर्न पाउने भनी कानूनी व्यवस्था छ। तर अर्कोतर्फ सबै बैंकले ऋण लगानी गरेवापत् चर्को व्याज असुल मात्र गरेका छैनन्। सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभावि ब्याजमाथि ब्याज लगाउने अपराधिक कामहरु गरेका छन्। यस्तो मनपरीतन्त्रलाई तत्काल नियन्त्रण गर्न र पीडितहरुको माग सम्बोधन गर्न सरकारकासँग जोडदार माग गर्दछु।’

प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले बालकुमारी घटनाको छानविन समिति संसदमा पेश नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले भनिन्, ‘बालकुमारी घटनाका हत्यारालाई पत्ता लगाउन छानविन समिति बन्यो। छानविन समितिको रिपोर्ट आयो त्यो प्रतिवेदन यहाँ पेश भएन। हत्यारालाई कारबाही भएन। अनुसन्धानको घेरामा भएका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्छ भनेर बारम्बार संसदमा अवरोध भयो तर अहिले?’

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताए। उनले विगतमा ३३ किलो सुन प्रकरणको छानविन समितिको प्रतिवेदन गायब भएको भन्दै अहिले आएको प्रतिवेदन नहराओस् भनि सचेत गराए। उनले दोषी उपर कारबाही हुनुपर्ने बताए।

उनले भने, ‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ। ३३ किलो सुन छानविन समितिको प्रतिवेदन गायव गरिएको छ। अहिलेपनि प्रतिवेदन आएको छ त्यो हराउने काम नहोस्। जो दोषि छन्, जो संलग्न छन् तिनीहरुमाथि सम्पूर्ण रुपले कारबाही होस्। एनसेल काण्डको प्रतिवेदन सार्वजनिक गरियोस् । यसलाई लुकाएर नराखियोस्।’

 

 

 

 

प्रकाशित: २ चैत्र २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App