२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकअर्काप्रति रुष्ट दल एउटै मञ्चमा

राजनीतिक दलका शीर्ष नेता पछिल्ला दिनमा एकअर्काप्रति आरोपप्रत्यारोपमा व्यस्त थिए। उनीहरू सत्ता समीकरण फेरबदल हुनसक्ने वक्तव्य दिइरहेका हुन्थे। यिनै शीर्ष नेता शुक्रबार चितवनमा एउटै मञ्चमा देखिए।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत नेता एकै मञ्चमा थिए।

प्रमुख दलका शीर्ष नेताहरू एकअर्कामा आरोपप्रत्यारोपमा लागेनन्। उनीहरू एकताको सन्देश दिएको भन्दै विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारको मञ्चमा राष्ट्रिय एकताको सन्देश दिएको बताए। प्रधानमन्त्रीले भ्रमण वर्षको उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको विचार राखे।

उनले भने, ‘उद्घाटन सत्रको कार्यक्रमबाट देशका मुख्य दलहरू एक ठाउँमा उभिने संस्कारको विकास भएको छ।’

भरतपुर विमानस्थलमा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रियसभाको निर्वाचन र कांग्रेस महासमितिको बैठकले गरेको निर्णयलाई लिएर असन्तुष्टि पोखेका थिए। शुक्रबार दाहालले उद्घाटन सत्रलाई समृद्धिको यात्रामा सबै दल एकै ठाउँ भएको सन्देश गएको दाबी गरे।

भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेको बताए। उनले भने, ‘देशलाई सन्देश मात्र दिएको छैन, यथार्थमा नेतृत्व नै गरेको छ। ६ लेन रोड, विमानस्थल विस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दै गर्दा महानगरपालिका, भरतपुरवासी आम जनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु।’ उनले सत्ताबाहिर हुँदा पनि राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन निरन्तर अगाडि बढ्ने स्पष्ट पारे। ‘सत्ता गठबन्धन निरन्तर अगाडि बढ्छ। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।’

उनले यसअघि सञ्चारकर्मीसँग राष्ट्रियसभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलाको उम्मेदवारीसमेत रहने बताएका थिए।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा हब बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने बताए।

यहाँको विकासमा आफू र आफ्नो पार्टी सधैं सहयोग गर्न प्रतिबद्ध रहेको बताए। अध्यक्ष ओलीले एक वर्षभित्र भरतपुरलगायत चितवनका पर्यटकीय क्षेत्रमा घुम्न आउने र अरूलाई पनि घुम्न आउन अनुरोध गर्नेसमेत बताए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताए। उनले यहाँको विकास र पर्यटकीय सम्भावनाहरूले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताए।

‘यहाँ गैंडा, पाटेबाघ, घडियाल गोही, साइबेरियन चरा र बनस्पति देख्न पाइन्छ,’ उनले भने, यहाँको प्राकृतिक विविधताले पर्यटकलाई आकर्षित गर्न सकिन्छ।’

उनले चितवनमा विभिन्न जातजाति, भाषाभाषीहरूको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको बताए।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सबै दल एकजुट बन्नुपर्ने बताए। सबै मिलेर नेपाललाई समृद्ध बनाउनुपर्ने बताए।

जनआन्दोलनपछि पटकपटक सरकार परिवर्तन हुँदा पनि नागरिकका अपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अहिले हिँडेको बाटोबारे समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौं, कहाँ कमजोरी भएको छ। एकचोटि छाती छामेर हेरौं, कहाँ कमजोरी भइरहेको छ। समृद्धितिर लान सम्भव छ।’

उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू भ्रमण वर्षको सफलताका लागि उपस्थित भएको बताए। उनले भरतपुर महानगरमा भएका राम्रा कामको आफूले प्रशंसा गर्ने जनाए। उनले भने, ‘भरतपुर भ्रमणका लागि देश र विदेशका सबैलाई आह्वान गर्न चाहन्छु। सिंगो साथ, सहयोगका लागि भूमिका निर्वाह गर्न तयार छु।’

भरतपुर भ्रमण वर्ष २०२४ शुक्रबारदेखि सुरु भएको छ। दुई पटकसम्म स्थगित भएको भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन्। यसले देशको अर्थतन्त्र चलायमान बनाउन सहज हुने अपेक्षा गरिएको छ। उद्घाटनअघि विभिन्न ठाउँबाट झाँकीसहित र्‍याली निस्किएको थियो।

प्रकाशित: १९ फाल्गुन २०८० १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App