२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदको महासचिवमाथि छानबिन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको चुनौति

नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसदको महासचिवलाई छानबिन गरी कारबाही गर्न चुनौति दिएका छन्।

शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसदको महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे। शुक्रवार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसदको महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए। सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौति दिए। उनले महासचिवको विषय अदालतबाट सफाइ पाइसकेको विषय भएको पनि बताए। उनले आगामी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित मन्त्रीहरुलाई बर्खास्त गरेको जवाफसहित संसदमा सम्बोधन गर्न आउन माग समेत गरे।

उनले भने, ‘संसदले बनाएको तालिका बमोजिम १३ र १४ गते हाम्रो बैठक छ। उपयुक्त समयमा समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्युलाई रह्यो। सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यि सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु। सार्वभौम जनताले निर्वाचित गरेर पठाएको सांसद तिमीले अहिले भर्खर राजीनामा दिनुपर्छ, रत्नपार्क, टुँडिखेलमा जाउँ भन्नेगरी कोही अमुक सांसदले यो संसदमा त्यस प्रकारको प्रक्रियामा सहभागि हुने मिल्छ? यो संसदको समग्र चरित्र, विधि, प्रक्रियासम्मत् विषय हो? सभामुखलाई रुलिङ गर्ने यो नियमावलीले हामी सांसदहरुलाई कहाँ अधिकार दिएको छ? हामी सांसदहरुले यति कुरा जान्नुपर्छ कि पर्दैन? सभाको महासचिवमाथि लक्षित भएर व्यक्तिगत लाञ्छना लगाउनेगरी, चरित्र हत्या गर्ने गरी विषयवस्तु आउने सांसदको तहबाट त्यो मिल्यो कि मिलेन? यदी माननीय सदस्यहरुले भनेकै जस्तो हो भने सरकारका प्रधानमन्त्री त यहाँकै दलको हुनुहुन्छ। गृहमन्त्री त यहाँकै दलको हुनुहुन्छ। किन यतिधेरै कष्ट गरिरहनुपर्छ यहाँ आएर? कारबाहीको प्रक्रिया, छानविनको प्रक्रिया, अनुसन्धानको प्रक्रिया सरकारले गर्ने होला। अनि ति विषयवस्तु उठाउनुपर्ने दायित्व के प्रतिपक्षको सांसदहरुको मात्रै हो र? यदि यस्तो गलत प्रक्रिया भएका छन् भने जोसुकैको हकमा छानवीन गरोस्। दण्डित गरोस् दोषि देखिएमा। नत्र अदालती प्रक्रियामा समेत साफ भएको विषय हो।’

प्रकाशित: ११ फाल्गुन २०८० १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App