१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनमा सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ: चन्द्रकान्त राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन्।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा चरम निराशा व्याप्त रहेको बताए। सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको उनले बताए। उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको बताए। उनले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताए।

गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको उनले बताए। उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए।

उनले भने, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु। देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु। समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु। देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ। प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ। न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ। संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन्। कार्यपालिकाको अवस्था यस्तो छ की कुनैपनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन। यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन। सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ। जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ। दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ । धोती लगाउँदा पनि षड्यन्त्र देख्छ। हामी सुध्रेनौँ भने जंगबहादुरकै हविगत हुनेछ।’

प्रकाशित: १० फाल्गुन २०८० १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App