१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा बैठक १५ गते बोलाउने निर्णय

विगत करिब साढे ४ महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ।

प्रदेश सरकारको मंगलबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।

गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको थियो। वर्षे अधिवेशन सकिएको ४ महिना नाघिसक्दा पनि हिउँदे अधिवेशन आह्वान भएको थिएन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिवेशन आह्वानको माग गर्दै आएको थियो। सरकार र प्रतिपक्ष दलबीचको असहमतिका कारण संसद् अधिवेशन डाक्ने विषयमा समस्या हुँदै आएको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुखले अब १५ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले प्रदेशसभा अधिवेशन आह्वान गर्न पत्राचार गर्ने प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री बहादुरसिहं लामाले जानकारी दिए। 

उनका अनुसार फागुन १३ मा सर्वदलीय बैठक बोलाउने सरकारको योजना रहेको छ। १३ गते दिउँसो सर्वदलीय बैठक बसेर संसद्को कार्यसूची तथा सत्तापक्ष र विपक्षबीचको विगतको विवाद समाधान गर्ने योजना रहेको लामाले जानकारी दिए।

सर्वदलीय बैठक सरकारका तर्फबाट प्रदेशसभाका सभामुखले डाक्ने गरी संसद् सचिवालयलाई पत्राचार गरिने उनले बताए। 

बैठकमा सरकार र प्रतिपक्ष दलबीचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको मन्त्री लामाले बताए।

संसद् सञ्चालन र बजेट माथिको सहमतिका विषयमा प्रतिपक्षसँग पनि समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ८ फाल्गुन २०८० २०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App