२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगद्वारा प्रशासनसँग जवाफ माग

राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन बुधबार विराटनगरका तीन स्थानमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका छुट्टाछुट्टै भेला र छलफल आयोजना गरेका छन्।

 विराटनगरको कोइराला निवासमा सत्तारूढ गठबन्धनले चियापान कार्यक्रम आयोजना गरेको छ भने विपक्षी गठबन्धनले पनि होटल ह्यारीसनमा छलफल कार्यक्रमको आयोजना गरेको छ।

सत्तारूढ गठबन्धनले नै विराटनगरस्थित स्टर्नस्टार होटलमा पनि छलफल कार्यक्रमको आयोजना गर्‍यो। विराटनगरका तीन स्थानमा गरिएका कार्यक्रमका विषयमा विभिन्न निर्वाचन आयोगसमक्ष गुनासो पुगेपछि आयोगले जिल्ला प्रशासन कार्यालय मोरङलाई वस्तुगत स्थितिबारे जानकारी मागेको छ।

विराटनगरमा दलहरूले गरेका कार्यक्रम तथा गतिविधिहरू आचारसंहिताविपरीत हुन् वा हैननन् भन्ने विषयमा यथार्थ वस्तुस्थितबारे निर्वाचन आयोगले जानकारी मागेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

निर्वाचन आयोगले मागेको जानकारीबारे बुझ्ने काम भइरहेको कारण बिहीबार निर्वाचन आयोगलाई यथार्थ वस्तुस्थितिबारे जानकारी दिने भट्टराईले बताए। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २०८० माघ ८ गते राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नहुने भनी आचारसंहिता लागु गरेको थियो।

यस्तै, कुनै पनि माध्ययमबाट प्रचारप्रसार र भोट माग्न नहुने जनाएको थियो। तर, निर्वाचन आचारसंहिताविपरीत दलहरूले भेला, अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरेपछि निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालय मोरङलाई दलहरूले गरेका गतिविधिबारे जानकारी उपलब्ध गराउन निर्देशन दिएको हो।

कोशी प्रदेशमा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा निर्वाचनको मतदानस्थल तोकिएको छ। कोशी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ।

राष्ट्रियसभा निर्वाचनको दुई सिटका लागि एमाले राप्रपा गठबन्धनबाट अन्य तर्फ राप्रपाका उद्वव पौडेल र महिलातर्फ एमालेकी रुकमिणी कोइराला चुनावी प्रतिस्पर्धामा छिन्।

यस्तै सत्तारूढ गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन्। कोशीमा सत्तारुढ गठबन्धनको पक्षमा पाँच हजार चार सय ८३ मतभार छ भने एमाले–राप्रपा गठबन्धनको चार हजार ६ सय चार मतभार छ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका दुई सय ७४ र प्रदेशका ९३ सांसद गरी तीन सय ६७ मतदाता रहेका छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाका एकजना छन्। सांसदहरूतर्फ एमालेको दुई हजार एक सय २०, कांग्रेसको एक हजार पाँच सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको तीन सय १८, एकीकृत समाजवादीको दुई सय १२ र जसपाको ५३ मतभार रहेको छ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका एक सय ३७ पालिकाका दुई सय ७४ मध्ये एमालेका एक सय १०, कांग्रेसका एक सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन्।

पालिकामा एमालेको २ हजार ९०, कांग्रेसको दुई हजार १ सय ८५, माओवादीको पाँच सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको एक सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २ सय १०, नेपाली कांग्रेसको तीन हजार सात सय २२ र माओवादी केन्द्रको एक हजार दुई सय ७८ रहेको छ। यस्तै, एकीकृत समाजवादीको तीन सय ४५, राप्रपाको तीन सय ९४, जसपाको एक सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ। 

प्रकाशित: ११ माघ २०८० ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App