२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीहरू संघियता कार्यान्वयनको ‘पोको’ बोकेर प्रधानमन्त्री भेट्न आउँदै

फाइल तस्बिर

सातै प्रदेशका मुख्यमन्त्रीहरू भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौँ आउँदै छन्। स्रोतकाअनुसार बिहीबार साँझबाट हेटौंडामा सुरु भएको सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकबाट आएको निष्कर्ष र निर्णयहरू लिएर उनीहरू प्रधानमन्त्री दाहाललाई भेट्न काठमाडौँ आउन लागेका हुन्।

मुख्यमन्त्रीहरू बिहीबारदेखि बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रादेशिक तथा स्थानीय अधिकार सुनिश्चित गर्ने विषयमा छलफलमा जुटेका छन्।

संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।

समयमै संवैधानिक अधिकार प्रत्यायोजन नभएको र त्यसले प्रदेशको समग्र विकासमा वाधा पुगेको भन्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री दाहालमार्फत संघिय सरकारलाई दबाब दिँदै आएका हुन्।

प्रहरी समायोजनलगायतका आफ्ना धेरै मागहरू पुरा नभएको भन्दै यसअघि उनीहरूले प्रधानमन्त्री दाहाललाई काठमाडौँमै भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका छन्। आफ्ना मागहरू पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

यसको प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय सरकारले अधिकार दिन आफूले कुनै कन्जुस्याइँ नगर्ने पटक–पटक प्रतिवद्घता जनाउँदै आएका छन्। उनले प्रायः सार्वजनिक कार्यक्रममा प्रतिवद्घता जनाउँदै आएका हुन्।

यस्तो छ मुख्यमन्त्रीहरूको आजको कार्यक्रम

बिहीबार साँझ हेटौडामा जम्मा भएका मुख्यमन्त्रीहरू ले हिजो कार्य विस्तृतीकरणको छलफलमा भाग लिएका थिए। साँझ केही समय उक्त कार्यक्रममा भाग लिएका उनीहरूले शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म हिजोको कार्यक्रमको निष्कर्ष र निर्णय सुन्नेछन्।

त्यसपछि ११ बजेदेखि उनीहरूको आफ्नो बैठक सुरु हुनेछ। यसमा ५ महिनाअघि पोखरामा भएको बैठकका निष्कर्ष र निर्णय कार्यान्वयनमा भए गरेका प्रगति वा अवरोध बारे बृहत् छलफल हुने जनाइएको छ। साथै प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र र त्यसको कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुने बताइएको छ।

यसपछि छलफलबाट आएको निष्कर्ष र निर्णयहरू बोकेर मुख्यमन्त्रीहरू काठमाडौँ प्रधानमन्त्रीलाई भेट्न आउनेछन्।

प्रकाशित: १३ पुस २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App