१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री साउदले गरे कतारका प्रधानमन्त्रीसँग विपिन जोशी रिहाइको आग्रह

परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा सोमबार शिष्टाचार भेट भएको हो।

भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत सम्बन्धका आधारमा यस जसरी मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताए।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए। उनले चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत समेत गरे। उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमासमेत कुराकानी गरेका थिए।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका छन्।

प्रकाशित: २५ मंसिर २०८० ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App