राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने “भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण“सम्बन्धी राजनीतिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने सङ्गठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो।
केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री राजाराम बर्तौला ले जानकारी दिएका छन्। दुई दिन सम्म सञ्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८० ०१:५७ आइतबार