२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाई भन्छन्ः ऋणबाट मुक्ति दिलाउँछु, प्रधानमन्त्री भन्छन्ः ऋण नतिर्नेमाथि कडा रूपमा प्रस्तुत हुन्छौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईले बिहीवार (भोलि) राजधानीमा बैङ्कलगायतका वित्तीय संस्थाका ऋणीहरूलाई मुक्ति दिलाउने नाममा प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले उनीप्रति नै सङ्केत गर्दै ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। 

प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्। पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा उनले कानुन विपरीत मानिएको यो मुद्दा निरन्तर उठाउँदै आएका छन्।

यसैबिच मङ्गलवार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँगको छलफलमा प्रधानमन्त्री दाहालले ऋण नतिर्ने माथि सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए। 

उनले छलफलको निष्कर्ष सुनाउँदै भने, ‘जसले जबरजस्ती ऋण नतिर्ने कुरा गर्छ, त्यसले संविधान, ऐन, कानुन, मूल्य,मान्यता तोड्छ। उसमाथि राज्य कडाइपूर्वक प्रस्तुत हुनुपर्छ भन्ने कुरा पनि हामी सबैको भनाइ आयो। बेइमानी गर्ने र अनैतिकतालाई छुट दिन सकिँदैन भन्ने भयो।’

प्रधानमन्त्री दाहालले व्यवसायी दुर्गा प्रसाईँप्रति सङ्केत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य,मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने तर्क गरेका थिए। 

उनले अर्थतन्त्रको शिथिलताका कारण कसैले ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैङ्कले गर्ने निष्कर्ष पनि छलफलबाट आएको बताए। ‘आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न नसक्ने ऋणीहरूका लागि सहजीकरण गर्ने काम पनि नेपाल राष्ट्र बैँकलाई दिइएको छ’, प्रधानमन्त्री दाहालले भने।

उनले सहकारी संस्थाहरूमा देखिएको समस्या ६ महिना भित्र समाधान हुने गरी छुट्टै विशिष्टीकृत खालको नियमनकारी निकाय स्थापना गर्ने जानकारी पनि दिए।

प्रधानमन्त्री दाहालले कर प्रणालीमा सुधारका लागि गठित आयोगले दिएको सुझावको आधारमा लगानी र उत्पादनमैत्री राजश्व संरचनामा सुधार गरिने निष्कर्ष छलफलबाट निस्किएको जानकारी पनि दिएका थिए।

प्रकाशित: ६ मंसिर २०८० ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App