२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकारले दसैँमा यात्रु ठगिने क्रम रोक्न सकेन’

सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन्।

सांसदहरुले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भएपनि सर्वसाधारण ठगिने क्रम भने रोक्न नसकेको बताए।

उनीहरुले यो वर्षको दसैँमा गाउँघरमा जाने यात्रुहरु सरकारले तोकेको भाडा दर भन्दा ४ गुणा बढीले ठगिएको बताए। सांसदहरुले सरकारले यातायातका सवारी दुर्घटना हुन नदिएको दाबी गरे पनि पछिल्लो १५ दिनमा ११३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते भएको दाबी गरे।

समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले यो पटक को दसैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे। उनले सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गरे।

दसैँमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको उनको तर्क थियो। उनले सडकहरुको दुरावस्था, यातायात व्यवसायीहरूको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गरे।

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले दसैँको १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारले दुर्घटना हुन नदिएको भन्दै दाबी गर्नु जायज नभएको बताए। 

उनले चाडपर्वको समयमा यातायात व्यवस्था सहज बनाउने र यात्रु ठगी रोक्न समितिले सरकारलाई लिएको निर्देशन पूर्ण रुपमा सरकारले पालना नगरेको उल्लेख गरे। यातायात मन्त्री ज्वालालाई प्रहरीको सूचना थाहा छ ? भन्दै पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारलाई जानकारी नहुन दुखद् भएको उनको भनाइ थियो।

त्यस्तै, समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सार्वजनिक यातायातमा यात्रुहरु ठगी रोक्नको लागि अनलाइन टिकट प्रणाली व्यवस्थित रुपमा लागू गर्न आवश्यक रहेको बताए। उनले सबै सार्वजनिक यातायातका सवारी साधनमा भाडा दर सहज रुपमा हेर्न सक्ने प्रणालीको विकास गर्न सके ठगी नियन्त्रण गर्न सकिने जिकिर गरे।

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले चाडपर्वमा सरकारले भने जस्तो यातायात व्यवस्था सहज बनाउन नसकेको गुनासो गरेका थिए।

त्यस्तै बैठकमा सांसदहरुले ठेक्का सम्झौता भएर निमार्ण कार्य अगाडि बढेका र बन्न लागेको सडकहरु तत्काल सम्पन्न हुन नसक्नुको मन्त्रीसँग कारण माग समेत गरे।

प्रकाशित: १३ कार्तिक २०८० १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App