५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरीसँग ढुंगेलको लुकामारी टुंगियो

काठमाडौं- काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाका तहसिलदार धु्रवकुमार ढकालले १२ वर्ष ५ महिना २२ दिन डिल्लीबजार कारागार पठाउने पुर्जी दिँदा बालकृष्ण ढुंगेलको मुहारको रङ बदलियो ।
रातो चेक टिसर्टमाथि खैरो हाफज्याकेट अनि खैरै ट्राउजरमा रहेका उनी मंगलबार दिउँसो साढे १२ बजे अदालत प्रवेश गर्दा सामान्य अवस्थामै थिए । पुर्जीमा लेखिएको कैद सजाय हेरेपछि भने उनी मलिन देखिए ।
१९ वर्षअघि उज्जन श्रेष्ठ हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद पाएका उनी लुक्दै आएका थिए । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार दिउँसो साढे ११ बजे ललितपुरको खुमलटार हाइटबाट उनलाई पक्राउ गरेर अदालतमा बुझाएपछि कारागार चलान गरिएको हो । पक्राउको आधा घन्टा अवधिमा अदालत पु¥याइए पनि लगत खोज्न समय लाग्दा पुर्जी पाउन करिब एक घन्टा लागेको थियो । ब्युरोको टोलीले पुर्जी लिएर कारागार पु¥याउन अदालत परिसरबाट बाहिर निकाल्दा ढुंगेलले आफूलाई सम्हालिसकेका थिए ।
सादा पोसाक र नीलो बर्दीका प्रहरीको घेरामा अदालत भवनबाट बाहिर निस्केलगत्तै ढुंगेल फोटो पत्रकारको घेरामा पर्दा  मुसुक्क मुस्कुराए । प्रहरी भ्यान चढ्नुअघि नेता शैलीमा हात हल्लाएर अभिवादन गरे । भ्यानमा डिल्लीबजार पु¥याएर पुर्जीसहित उनलाई जेलरको जिम्मा लगाएर ब्युरोका प्रहरी निरीक्षक भीष्म हुमागाई टोलीसहित महाराजगञ्ज कार्यालय फर्किए ।
‘हत्या कसुरमा दोषी ठहर भएपछि फरार ढुंगेललाई पक्राउ गर्न अदालतबाट आएको आदेशअनुसार पक्राउ गरी अदालत बुझायौं,’ ब्युरोका प्रमुख पुष्कर कार्कीले भने, ‘अदालतले फैसलाअनुसार कारागार पठाइसकेको छ ।’
८ वर्र्ष लुकामारी
माओवादी द्वन्द्वकालमा  २०५५ असार १० गते ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको गोली हानी हत्या भएको थियो। सुराकीको आरोपमा उनको हत्या गरिएको जिम्मेवारी  माओवादीले लिएपछि यो प्रकरण प्रहरी हुँदै जिल्ला अदालत ओखलढुंगा पुगेको थियो ।
उज्जनसँगै रहेका भरियाको बयानका आधारमा पारिवारिक रिसइबीका कारण उनको हत्या भएको ठहर गर्दै जिल्ला अदालतले २०६१ मा ढुंगेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलाअनुसार कारागार चलान भएका ढुंगेलले फैसलाविरुद्ध पुनरावेदनमा दिएको निवेदनमा सुनुवाई गर्दै तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी  ओखलढुंगाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन प¥यो । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाएर जिल्ला अदालतको फैसला सदर गरेपछि ढुंगेलसहित ९ जना दोषी ठहर भएका थिए ।
जिल्ला अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैद सुनाएको मितिका आधारमा उनी १३ वर्षपछि पक्राउ परे । पक्राउबाट जोगिन उनले प्रहरीसँग लुकामारी खेल्न थालेको ८ वर्ष पुग्यो ।
सर्वोच्चले पटकपटक उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिए पनि राजनीतिक प्रभावका आधारमा उनी जोगिँदै आएका थिए । माओवादीले सत्तामा रहेका बेला २०६८ मा आममाफी दिएर उनलाई जोगाउने प्रयास गरेको थियो । सर्वोच्चको हस्तक्षेपका कारण माफी प्रयास असफल भएपछि सत्तामा रहेका बेला माओवादी नेतृत्वले प्रहरी प्रशासनलाई ढुंगेललाई देखे पनि आँखा चिम्लिन लगायो भने सत्ता बाहिर रहेका बेला द्वन्द्वकालीन मुद्दा भन्दै पक्राउ नगर्न सत्ताधारी दललाई दबाब दिएर जोगाइरह्यो ।
२०६६ पुस १९ मा सर्वोच्च अदालतले ढुंगेललाई श्रेष्ठको हत्यामा संलग्न रहेको ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला गर्दै पक्राउ गरी जेलचलान गर्न आदेश दिएको थियो । ढुंगेलविरुद्ध जाहेरी दिएका श्रेष्ठका दाजु गणेशको हत्या भए पनि परिवारका अन्य सदस्य र कानुन व्यवसायीले पक्राउ गर्न बारम्बार ताकेता गरिरहेका थिए ।
ताकेताअनुसार अदालतले २०६८ कात्तिक २२ मा ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिसमक्ष भएको सिफारिस बदर गराउँदै पक्राउका लागि ओखलढुंगा जिल्ला अदालतमार्फत गृहमन्त्री, प्रहरी प्रधान कार्यालय र मन्त्रिपरिषद्का नाममा पत्र पठाए पनि कार्यान्वयन भएन ।
त्यसपछि अदालतले २०७२ फागुन ९, २०७३ भदौ १२ र २०७३ पुस ७, फागुन १८ र चैत २७ मा ढुंगेललाई पक्राउ गरी फैसला कार्यान्वयन गराउन गृह मन्त्रालय र प्रहरीलाई पत्र पठायो तर कार्यान्वयन भएन । सार्वजनिक कार्यक्रममा सहभागी भएर प्रधानन्यायधीश र न्यायाधीशविरुद्ध भाषणबाजी गर्दै हिँड्दा समेत उनी पक्राउ परेनन् ।
राजनीतिक प्रभावमा परेर प्रहरीले ढुंगेललाई पक्राउ नगरेको निष्कर्ष निकाल्दै सर्वोच्चले फेरि २०७३ चैत ३१ मा पक्राउ गरी कारागारमा पेस गर्न वारेन्ट जारी ग¥यो । यसका लागि प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई ७ दिनको समय तोकियो । तर ढुंगेलको लुकामारी रोकिएन । अदालतबाट वारेन्ट जारी भएको समयमा सत्तामा माओवादी नै थियो । उनी सो समय कपन क्षेत्रमा आफन्तको घरमा बस्थे । अदालतबाट आदेश भएकै दिन उनी भारत पुगेका थिए । सत्ता साझेदारी सर्तअनुसार गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री भए । माओवादीले गृहको नेतृत्व पाएपछि उनी भारतबाट फर्किएर कहिले कपन त कहिले ललितपुरको खुमलटारमा रहेको भाइको परिवारसँग बस्दै आए ।
महानिरीक्षक अर्याल अदालतले तोकेको ७ दिनको म्याद गुज्रेपछि ढुंगेललाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मेवारी दिएको तर उनी फेला नपरेको लिखित जबाफ अदालतमा पठाएर बसे ।
ढुंगेल काठमाडौंमा अर्धभूमिगत अवस्थामा सक्रिय रहेको सूचना पाए पनि प्रहरीले देखेको नदेख्यै गरिरह्यो । माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज १७ मा सहकार्य भएपछि ढुंगेल खुला रुपमा सार्वजनिक भएका थिए । उनी माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै ओखलढुंगा एमाले नेता यज्ञराज सुनुवारसहितसँग बानेश्वरको एक घरमा भएको बैठकमा सहभागी भए । बैठकमा सहभागी तस्बिर सार्वजनिक भएपछि ढुंगेलको खोजी गरिरहेको दाबी गर्दै आएको प्रहरी नेतृत्वको निस्क्रियता खुलासा भयो ।
त्यसलगत्तै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चले वारेन्ट जारी गर्दै पक्राउ गर्न आदेश दिएका व्यक्तिलाई प्रहरीले पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै निवेदन दर्ता गराएपछि प्रहरी नेतृत्व ढुंगेलको खोजीमा सक्रिय भयो।
सत्ताधारी दल कांग्रेस नेतृत्व महानिरीक्षक अर्यालसँग सकारात्मक नभएको र रिटकर्ता त्रिपाठीसमेत सोेही दलसँग आवद्ध कानुन व्यवसायी भएकाले अर्यालले रिटको आसय आफूलाई पदच्युत गर्ने भएको विश्लेषण गर्दै ढुंगेलको खोजी तीव्र बनाउन ब्युरोका डिआइजी पुष्कर कार्कीलाई निर्देशन दिए ।
निर्देशनलगत्तै कपन क्षेत्रमा खोजी गर्दा नभेटिएपछि आफन्त पच्छ्याउँदै जाँदा ढुंगेल खुमलटार हाइटमा बस्ने गरेको खुलेपछि ब्युरोको टोलीले मंगलबार दिउँसो घरबाट निस्किएको मौका छोपेर उनलाई पक्राउ गरेको थियो ।
२०८७ वैशाखमा थुनामुक्त
श्रेष्ठ हत्या अभियोगमा ९ जना दोषी ठहर भएका थिए । जसमध्ये ३ वर्ष कैद सजाय पाएका भरिया थिरबहादुर खत्रीले  कैद भुक्तान गरिसकेका छन् । थलबहादुर पौडेल निर्दोष ठहर भए । ढुंगेलसँगै जन्मकैद पाएका पुष्कर गौतम तीन वर्षअघि पक्राउ परेर ३ वर्ष जेल सजाय काटिसके । ढुंगेल भने राजनीतिक संरक्षणमा कारागार पुग्नबाट जोगिइरहे । सर्वोच्चले फैसला सदर गरेलगत्तै उनी पक्राउ परेका भए अहिले ८ वर्ष सजाय कटिसक्थ्यो ।
उनी पक्राउ परेर जेलचलान भएको मितिदेखि कैद सजाय गणना हुँदा पहिलोपटक जेल बसेको ६ वर्ष ६ महिना कटाएर अदालतले अब १२ वर्ष ५ महिना २२ दिन जेलमा बस्नुपर्ने निष्कर्ष निकालेको छ । सो निष्कर्षअनुसार ढुंगेल २०८७ वैशाख ६ मा जेलमुक्त हुनेछन् ।
 

प्रकाशित: १५ कार्तिक २०७४ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App