४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली र दाहालले दुवै पार्टीका केन्द्रीय बैठकलाई सम्बोधन गर्ने

फाइल फोटो

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ। 

‘केन्द्रीय संयोजक समितिका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका केन्द्रीय तहका बैठकमा उपस्थित भएर सम्बोधन गरिनेछ,’ निर्देशनमा भनिएको छ, ‘त्यसैगरी पार्टी एकता संयोजक समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका सम्बन्धित तहका बैठकमा सहभागी हुने र सम्बोधन गर्ने छन्।’

सो निर्देशनमा प्रदेश तथा जिल्ला तहसम्म पार्टी एकता संयोजन समिति गठन गर्ने उल्लेख । ‘सहमतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने केन्द्रीय तहमा पार्टी एकता संयोजन समिति गठन गरिएको छ । समितिले आफ्नो काम सुचारु रुपले अघि बढाइरहेको छ,’ सात बुँदे निर्देशनमा उल्लेख छ, ‘आपसी परामर्शमा प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिने छ।’

केन्द्रमा ओली र दाहालका अतिरिक्त एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितको एकता संयोजक समिति बनाइएको छ। 

निर्देशनमा पार्टी एकता र निर्वाचनको विषयमा निर्वाचन क्षेत्रस्तरमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भनिएको छ । ‘त्यस्ता भेलालाई सम्भव भएसम्म केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने,’ निर्देेशनमा उल्लेख छ। 

एमाले र माओवादीबीच पार्टी एकता घोषणासहित चुनावी तालमेल भएको छ । दुवै दलले मंसिरमा हुने चुनावमा ४० र ६० प्रतिशतले सिट बाँडफाँट गर्ने सहमति गरेका छन् । त्यसैअनुसार पहिलो चरणका सिट बाँडफाँट भए पनि दोस्रो चरणको बाँडफाँट टुंगिएको छैन । निर्देशनमा कातिक १९ देखि २६ गतेसम्म पहिलो चरणमा चुनाव हुने क्षेत्रमा दुवै दलका अध्यक्षसहितका नेताले संयुक्त रुपमा कार्यक्रम गर्ने उल्लेख छ । पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ स्थानमा मंसिर १० गते चुनाव हुँदैछ । बाँकी जिल्लामा दोस्रो चरणमा मंसिर २१ मा निर्वाचन हुनेछ। 

प्रकाशित: १२ कार्तिक २०७४ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App