२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचार विरोधी कदम चाल्दा सरकारलाई अप्ठयारो भयो: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए।

माडी एफएमको १३ औं वार्षिकोत्सवलाई बुधवार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी कदम चाल्दा सरकारलाई धेरै अप्ठयारो भएको बताए। उनले जस्तो अवस्थामा पनि सरकारको सुशासन, समृद्ध र सामाजिक न्यायलाई कार्यान्वयन गर्न दृढ संकल्प रहेको दावी गरे।

उनले भने, ‘मूल मिसन र ध्येयमा अविचलित भएर सरकार अगाडि बढ्नेछ। अहिले देखिएका घटना बाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउनेछौं। भ्रष्टचारविरोधी अभियान चलाउने पात्रहरुलाई घेराबन्दी गर्ने र सरकारका केही पात्रलाई घेराबन्दी गर्ने, यसका मूल पात्रहरुलाई हटाउने षडयन्त्र भइरहेको छ। हामी षडयन्त्रबाट पछाडि हट्ने छैनौं।’

यो भ्रष्टचारविरोधी अभियानलाई बिश्राम नलिई अगाडि बढाउने उनले दाबी गरे। उनले भने, ‘भ्रष्टचार नियन्त्रण सजिलो बाटो होइन तर तै चुपमैचुपको नीतिको यथास्थितिको सामु लम्पसार हुने काम यो सरकारबाट हुन सक्दैन। सबै अपराधी र तस्करहरुलाई कानुनी कठघरामा उभ्याइन्छ।’ ६० किलो सुन तस्करीलाई आधार बनाएर त्यसको जरासम्म पुग्ने काममा सीआईबी अनुसन्धानरत रहेको भन्दै छिट्टै अनुसन्धान निष्कर्षमा पुग्ने श्रेष्ठले जानकारी दिए। भ्रष्टचार नियन्त्रणलाई सबैले साथ दिइरहेको भन्दै आभार व्यक्त गरे।

प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर बालुवाटार जग्गा व्यक्तिको नाममा लाग्ने काम भएको भन्दै गृहमन्त्री श्रेष्ठले बालुवाटार जग्गा छिट्टै सरकारको नाममा आउने दाबी गरे। ‘राजधानीको ललित निवास क्षेत्र बालुवाटारमा सरकारी जग्गालाई प्रभावकारी व्यक्ति मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ। त्यसलाई आफ्नो तर्फबाट अनुसन्धान गरेर कानुनको दायरामा ती व्यक्तिहरुलाई ल्याउने प्रकृया आगडि बढाइएको छ। त्यो जग्गा छिट्टै सरकारको नाममा ल्याउने ठोस पहल कदमी बढेको छ, उनले भने ‘मलाई विश्वास छ। त्यो सरकारको जग्गा छिट्टै सरकारको नाममा नै दर्ता हुनेछ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि अन्तरम टुंगोमा पुग्ने बताए। ‘आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा कमाउन धन्दामा लागेका राज्य सञ्चालनमा महत्वपूर्ण भूमिमा रहेकाहरुलाई कानुनको दायरामा ल्याउने प्रकृया अगाडि बढेको छ। त्यो अदालतमा मद्दा विचाराधिन छ,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन्। यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन्। गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए। उनले सरकारको निरन्तरता, गहृमन्त्रीको निरन्तरता भ्रष्टचार, कालोबाजारी, दण्डहिनता र तस्करीको निरन्तरता सँगसँगै जान नसक्ने बताए।

लघुवित्तको समस्या र मिटर ब्याजीको समस्या समाधान गर्न सरकारले विशेष ध्यान दिएको दावी गरे। ‘बैक र सहकारीबाट पैसा लिएर पैसा नतिर्नु है भनेर अपिल गर्ने। तर लिएको पैसा तिनु पर्दैन भन्ने एउटा अभियान चलाउन खोजिएको छ। त्यस बारेमा हामीले गम्भिरता पूर्वक सोच्नुपर्ने हुन्छ,’ उनले भने ‘जो अन्यायमा परेको छ। जस्को घरबास उठ्ने अवस्था छ। अन्याय भएको छ। त्यहाँ सकारात्मक समाधान गर्न सरकारले आफ्नो जिम्मेवारी ठानेको छ।’ मिटर ब्याजीको समस्या समाधानका निम्ती प्रहरी, सरकारी वकिल सहितको उच्च स्तरिय आयोग बनेको बताए।  प्रमुख जिल्ला अधिकारीलाई मिटर ब्याजीको समस्या समाधान गर्न अधिकार दिएको उनले बताए।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूहरु दृढतापूर्वक राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक आर्थिक रुपान्तरण चाहेको बताए। उनले आफूहरुले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको बताए। श्रेष्ठले जनताले कर्मचारी र दलका नेताहरुलाई दलाली र चाकडी गर्नुपर्ने अवस्थाको अन्त्य गनुप¥यो भनेर जनताले भनेको बताए। गृहमन्त्री दुई दिनसम्म चितवनमा नै बस्नेछन्। उनले माडी जानका लागि निकुञ्ज भित्रको सडक कालोपत्रे गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन्। माडीको तटबन्धन, पुल निर्माण, शिक्षा तथा सीमा क्षेत्रको समस्यालाईृ समाधान गर्ने उनले बताए। उनी माडीका विभिन्न कार्यक्रममा सहभागि भएका छन्।  

प्रकाशित: २० भाद्र २०८० १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App