२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह

गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे।

धर्म, संस्कृति र परम्परा एक अर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सदभाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सदभाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए।

भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरण अन्तिम निष्कर्षमा पुर्‍याई दोषीलाई कानुनी कठघरामा उभियाउने दृढता समेत व्यक्त गरे।

‘सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्‍यो, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘सिआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौं।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआइबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए।  

सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवन स्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए।

गौर हत्याकाण्डका विषयमा पत्रकारहरूले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धान रोकिएको होइन, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ। त्यसैले थप अनुसन्धान भइरहेको छ। यसबारे उचित निर्णय लिएर अघि बढ्छौं।’

यसैगरी गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्ने कार्यक्रम छ।

त्यस्तै उनले आज दिउँसो वीरगञ्जस्थित टाउन हलमा नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: १० भाद्र २०८० ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App