६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालले भने- अहिले नै जबज छाड्न सकिन्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्।

नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३९ पेज लामो राजनीतिक प्रतिवेदनमा पेश गर्दै जबजलाई तत्काल छाड्न नसकिने बताएका हुन्। अध्यक्ष नेपालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन तत्काल गठबन्धनको विकल्प नभएको पनि उल्लेख गरेका छन्।  

राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको भन्दै एमाले र नेकपा एसबीच धेरै विषयमा फरक रहेको उल्लेख गरेका छन्। अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन्। त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन्। उनले गठबन्धनको सवालमा ओलीले संसद विघटन गरेपछि संविधान जोगाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

‘प्रतिगमन विरुद्धको सफल आन्दोलनबाट प्रतिनिधि सभा पुनःस्थापित भई पूर्ण कार्यकाल कृयाशील भएपछि आयोजित आम निर्वाचनको बेला हामीसमेत सहभागी भएर बनेको गठबन्धन निर्वाचनपछि पौष १० मा भत्किएको थियो र नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले), रास्वपा र राप्रपासँग नया गठबन्धन बनाएर पुष्पकमल दाहालको नेतृत्वमा सरकार निर्माण गरेको थियो। त्यो सरकार वस्तुतः नेकपा (एमाले) का अध्यक्ष के पी ओलीले रास्वपा र राप्रपालाई साथ लिएर निर्वाचनकोबेला बनेको वाम–लोकतान्त्रिक गठबन्धन भत्काउने, संविधान विरुद्धको आफ्नो आक्रमणलाई सही ठहर्याउने र नयाँ सरकारलाई आफ्नो योजनाअनुसार सञ्चालन गर्ने चालवाजीस्वरूप बनेको थियो’, नेपालले भनेका छन्।

‘उक्त चालवाजीको पोल चाँडै नै खुल्यो र न्युनतम साझा सहमतिका आधारमा फेरि हामीसमेत सहभागी भएको नयाँ गठबन्धन बनेको छर त्यस गठबन्धनले सरकार बनाएको छ। निर्वाचनपछि राजनीतिमा देखिन थालेको विकृतिलाई रोक्न त्यो एक महत्वपूर्ण कदम हो। पाँचै वर्ष सरकार टिकाउने ध्येय र त्यसका लागि आवश्यक सहमतिका साथ बनेको यस गठबन्धनले प्रतिनिधि सभाको यस कार्यकालभरि स्थिरताको विश्वास जगाएको छ। ’

उनले मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा प्रतिपादित जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनको व्यापक विस्तार एवं विकास र लोकतान्त्रीकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जनवादी क्रान्तिको चरणमा त्यसले मार्गदर्शन गरेको थियो जनाएका छन्। 

अहिले नेपाली क्रान्ति जनवादी चरण पार गरेर समाजवादी चरणमा प्रवेस गरेको छ। ‘जनताको बहुदलीय जनवादमा सामन्तवाद विरुद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएका छन्। यो उपलव्धीको पक्ष हो। तर, जनताको बहुदलीय जनवाद सामन्तवाद विरोधी कार्यक्रम मात्र होइन, दलाल नोकरशाही पूँजीवाद विरोधी कार्यक्रम पनि हो। यो राजनीतिक कार्यक्रम मात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रम समेत हो। यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन्। जबजले जनवादबाट समाजवादमा पुग्न तीन चरण भएर अगाडि बढ्ने जुन मार्गचित्र प्रस्तुत गरेको छ, ती तीन चरणमा हामी लोकतान्त्रिक मार्गबाटै हिड्ने छौँ। हामीले कम्युनिष्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यता राखेका छौँ’, प्रस्तुत गरिएको दस्तावेजमा भनिएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App