२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा फुट्यो

काठमाडौं- एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएको छ। ६६ जना केन्द्रीय सदस्य र २२ सांसदको हस्ताक्षरसहित राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाले आइतबार साँझ राप्रपाबाट अलग भएको घोषणा गर्दै राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाएका छन्।

'निर्वाचन आयोग र संसद् सचिवालयमा नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका छौं,' सहप्रवक्ता किरण गिरीले भने 'हामीले हलो चुनाव चिह्न माग गरेका छौं।' संसद् सचिवालय र निर्वाचन आयोगमा नयाँ दल राप्रपा प्रजातान्त्रिक दर्ताका लागि निवदेन दिइएको छ।

मंसिर ६ गते राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भई राप्रपा बनेको थियो। पहिलो चरणको स्थानीय तह चुनावमा अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि पार्टीभित्रको विवाद सतहमा देखिएको थियो।

'फागुनमा भएको एकीकरण महाधिवेशनको भावनाअनुसार अध्यक्ष कमल थापाले पार्टी नचलाएका कारण असन्तुष्टि बाहिर आएको हो,' केन्द्रीय सदस्य सगुन लावतीले भने, 'अध्यक्ष थापाले विवाद समाधान गर्ने र अघि बढाउने विषयमा ध्यान नदिएकाले नयाँ दल दर्ताका लागि निवेदन दिएका छौं।'

नवगठित पार्टीको अध्यक्ष राणालाई बनाइएको छ। उनको नेतृत्वमा निर्वाचन आयोगमा केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गर्ने कार्य राति अबेरसम्म चलेको थियो।

तर, राप्रपा अध्यक्ष थापाले हस्ताक्षर नक्कली भएको बताएका छन्। 'एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउनु दुर्भाग्यपूर्ण हो। अधिकांश हस्ताक्षर नक्कली छन्। विचलिन नहुन कार्यकर्तालाई आह्वान गर्छु', टि्वट गर्दै उनले भनेका छन्।

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार वासुदेव (बबिन) शर्माले राणा पक्षले १९ सासदको हस्ताक्षरसहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाएको जानकारी गराएको बताए।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, रेशम लामा, बबिना मोक्तान लावती, लीलादेवी श्रेष्ठ, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), लक्ष्मी थापा पासमान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दी पन्त, इत्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, विराज बिष्ट, कमला शर्मा, सीता लुइँटेलसहितका २२ सांसदको हस्ताक्षर बुझाइएको जानकारी गिरीले दिए।

रेशम, बबिना, लीलादेवी, राजेश्वरी, रामकुमार, विराज, कमला,  सीता पहिला राप्रपा नेपालबाट सांसद भएका केन्द्रीय सदस्य सगुनले बताए। त्यसैगरी पहिला राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्य नवराज सुवेदी, हरिबहादुर बस्नेत, ध्रुवबहादुर प्रधानसहितका नेता पनि अहिले राणा पक्षमा आएका छन्। राप्रपाका सबै उपाध्यक्षसहित बहुमत केन्द्रीय सदस्य नयाँ पार्टीमा आएको दाबी गिरीले गरे।

राप्रपा केन्द्रीय समिति १ सय ६१ सदस्यीय छ। अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट राणाले साउन पहिलो साता भएको केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए।

पहिलो चरणको चुनावपछि पार्टी विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउन राणाले हस्ताक्षर संकलन गर्न थालेको जानकारी पाएपछि अध्यक्ष थापाले विधानको अधिकार प्रयोग गर्दै ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

राप्रपा केन्द्रीय सदस्य भरत पाठकले निर्वाचन आयोगमा ६४ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको दाबी अर्को पक्षले गरे पनि त्यो सही नभएको बताए। 'निर्वाचन आयोगमा हस्ताक्षर बुझाइएका मध्ये ६ जना केन्द्रीय सदस्य होइनन् । त्यसैले यसले वैधानिकता प्राप्त गर्न सक्दैन,' पाठकले भने, 'पार्टी विभाजन गराउन सरकार नै लागेको छ। यो लोकतन्त्रका लागि राम्रो होइन।'

राप्रपा विभाजन नौलो विषय भने होइन। अधिकांश पूर्व पञ्च नेतृत्वमा रहेको राप्रपा पटकपटक एकीकरण र विभाजित हुँदै आएको छ। २०४७ जेठ १५ गते एकै दिन राप्रपा (थापा) र राप्रपा (चन्द) गठन भएको थियो। त्यसपछि यी दुई पक्षबीच एकता र विभाजन हुँदै आइरहेको छ।

प्रकाशित: २३ श्रावण २०७४ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App