१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुन तस्करीसँग मेरो परिवारलाई जोडेर लेखेको समाचार झुटो हो, कानुनी कारबाहीमा जान्छुः ईश्वर पोखरेल

फाइल तस्बीर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।  

सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको समाचार एक अनलाइन न्यूज पोर्टलले प्रकाशित गरेको थियो।  

त्यसको विरोधमा पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार शतप्रतिशत झुटो भएको भन्दै आपत्ति जनाएका हुन्। उनले सो समाचारको भर्त्सना र खण्डन गर्ने बताएका छन्। पोखरेलले यसबारेमा आजै कानूनी कारबाही अगाडि बढाउने समेत बताएका छन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ। यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो। म चुनौतीका साथ भन्न चाहन्छु। मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु।'

प्रकाशित: १ भाद्र २०८० ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App