५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करी प्रकरणमा पक्राउ दावा छिरिङको कनेक्सन कुन–कुन नेतासँग छ ?

माओवादी उपमहासचिव वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीसँगै दावा छिरिङ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ।

काठमाडौँ ठमेलबाट आइतबार बिहान पक्राउ परेका दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको छ। त्यसमा विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरुसँग उनको कनेक्सन देखिएको छ।

तर अहिलेको सुन प्रकरणमा उनले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क गरे नगरेको विषयमा अनुसन्धान हुँदैछ। विगतमा दावाको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ। उनीहरूसँग के कति कारणले दावाको सम्पर्क भयो भन्नेबारे केही खुलेको छैन। तर दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ।

राजश्व विभागको टोलीले काठमाडौँको ठमेलस्थित होटेल भियनामा छापा मारेर दावालाई पक्रेको हो। ठमेलमा सञ्चालित होटेल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार बिहान छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको हो। अहिलेको सुन तस्करी काण्डमा छिरिङको कहीँ न कहीँ संलग्नता जोडिएको केही ‘क्लु’ फेला परेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। 

‘उनीसँग नेपाली नागरिकता पनि भएको सुन्नमा आएको छ। प्रहरीले उनीमाथि निगरानी पनि गरिरहेको रहेछ,’उनले भने। छिरिङको राजनीतिक कनेक्सनबारे भने उनले अनुसन्धान चलिरहेको भन्दै केही बताउन चाहेनन्। ‘भर्खरै पक्राउ परेका छन् अनुसन्धान हुँदैछ,’ उनले भने।

केही दिनअघि चिनियाँ नागरिक दाओजिन वाङले ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा प्रयोग गरेको समाचार सेलाउन नपाउँदै माओवादी नेताहरूको सम्पर्कमा रहेका दावा पक्राउ पर्नुलाई संयोग मात्र मान्न नहुने अपराध अनुसन्धान संलग्न अधिकारीहरूको दाबी छ। 

संगठित अपराधको अनुसन्धानमा संलग्न विज्ञहरूले सय किलो सुनमा यदि राजनीतिक कनेक्सन देखिए यत्तिकै सेलाउन सक्ने आशंका पनि गरेका छन्। प्रहरीको प्रतिवेदनमा उल्लेख भएका व्यक्तिलाई बयानसमेत नलिएको अवस्थामा सय किलो सुनको अनुसन्धान राजनीतिक कनेक्सनले कमजोर बनाउन सक्ने सम्भावना रहेको आशंका गर्न थालिएको छ।

प्रकाशित: १५ श्रावण २०८० ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App