२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सुन तस्करी नियन्त्रणमा संसदीय समितिको भूमिका प्रभावकारी हुनुपर्ने

सुन तस्करी नियन्त्रणमा संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सांसदहरूले माग गरेका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन्।

कांग्रेसका कृष्णप्रसाद पौडेलले सुन तस्करीको तथ्य पत्ता लगाई बाहिर ल्याउन संसद् र संसदीय समितिहरूले कडा कदम चाल्नुपर्ने बताए। अन्तर्राष्ट्रिय जगत्मै नेपालको अपमान हुने गरी सुन काण्ड बाहिर आएको उनले बताए।

जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादवले सुन तस्करी, ललिता निवासको समेत छानबिन गरी दोषीलाई उम्कन नदिने खालको अनुसन्धान अगाडि बढाउनुपर्ने बताए। उनले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि दोषीमाथि कारबाही नहुनु मुलुकका लागि लाजमर्दो विषय भएको बताए।

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै सम्बन्धित पक्षसँग संसद् र संसदीय समितिले छलफल गर्नुपर्ने बताए।

समिति सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्य, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताए। नेपालको संसद् पहिल्यैदेखि विवादित र नराम्रो किसिमले चल्ने गरेकाले अहिले कुनै पनि मुलुकको संसद्मा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको उनको भनाइ थियो। गौतमले सांसदहरू संसद्को नियमावलीलाई बेवास्ता गरी जथाभावी रूपमा उठेर बोल्ने गरेको बताए। उनले एकजनाले मात्रै बोल्नुपर्ने ठाउँमा २ सय ७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे।

गौतमले पुरानो संसद्को प्रतिनिधित्व परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको त पहिलको भन्दा झन् खराब रूपमा तल झरेर असभ्य, अपसंस्कार र संस्कृतिहीन भएको बताए।

यता, प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको शुक्रबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। कुल २६ सदस्य रहेको समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो। बिहान साढे ११ बजे समितिको बैठक कक्षमा बोलाइएको थियो।

प्रकाशित: १३ श्रावण २०८० ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App