२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन्।

उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए।

उनले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावि रुपमा उठेर बोल्ने गरेको बताए। एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको उनले टिप्पणी गरे। उनले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए। पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको उनको भनाइ छ।  

उनले भने,‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो। अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ। त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन। परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ। एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ। कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ। संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ। हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौं। यसलाई समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएको हुनाले यो संसद पहिलो होइन। भन्ने गरेका छौं। पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो। सुशासन भित्र यो कुरा पर्छ की पर्दैन। अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुन्छ। कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन। संसद अवरोध गर्ने विषय नियमावलीमा छैन। सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो। पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ। उद्देश्य मुलुक ढङ्गले संसद चल्न नदिने किसिमको भएको छ । यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ।’

प्रकाशित: १२ श्रावण २०८० ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App