४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नीति महाधिवेशन मंसिरमा

नेपाली कांग्रेसले महासमिति बैठक (नीति महाधिवेशन) मंसिरमा गर्ने भएको छ। केन्द्रीय समितिले लिने निर्णयका विषयमा मंगलबार बसेको पदाधिकारी बैठकमा महासमितिको बैठक मंसिरमा बोलाउने समझदारी भएको हो। मिति भने सभापति शेरबहादुर देउवाले थप परामर्श गरेर बुधबार टुंगो लगाउने समझदारी बनेको छ। कांग्रेस केन्द्रीय समिति बैठक साउन २ देखि जारी छ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरे पनि युवा नेताहरूले यो विषय उठाउँदै आएका छन्। विधानको व्यवस्थाअनुसार महासमिति बैठक बस्न पनि ढिला भइसकेको जनाउँदै त्यसलाई नै नीति महाधिवेशनमा परिणत गर्ने समझदारी बनेको एक पदाधिकारीले जानकारी दिए। केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिका तर्फबाट महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रस्तावलाई संशोधनसहित पारित गर्ने भएको छ। महामन्त्री थापाद्वारा प्रस्तावित विभागहरू नदोहोरिने गरी गठन गर्ने समझदारी पनि पदाधिकारी बैठकमा भएको छ।  

संविधान कार्यान्वयसहित देशको पछिल्लो राजनीतिक अवस्थाका विषयमा केन्द्रीय कार्य समितिले पार्टीको धारण स्पष्ट गर्ने भएको छ। कांग्रेससमेत सहभागी सरकारलाई जनताका पक्षमा काम गर्न केन्द्रीय समितिले विभिन्न प्रस्ताव अघि सार्ने भएको छ। बजार मूल्य नियन्त्रणदेखि किसान, श्रमिकका विषयमा पनि कांग्रेसले बोल्ने भएको छ। भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा पार्टीलाई अझ खरोरूपमा प्रस्तुत गर्ने निर्णय बैठकले गर्नेछ। तर कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई भने निलम्बन नगर्ने भएको छ। त्यसमा महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव पदाधिकरी बैठकमा राखेका थिए। प्रस्तावमा भने पदाधिकारीबीच एउटै मत बनिसकेको छैन। केन्द्रीय समितिको अर्को बैठक अहिले नै तोक्नुपर्ने धारणा पदाधिकरी बैठकमा पनि आएको छ। तर मिति तोक्ने या नतोक्ने विषय टुंगो लाग्न बाँकी रहेको जानकारी दिँदै एक पदाधिकारीले भने, ‘विधानको व्यवस्थाअनुसार अर्को बैठक असोजमा बस्नुपर्ने हुन्छ, त्यसमा अहिले नै कुनै समझदारी बनेको छैन।’

केन्द्रीय समितिको बैठकले के के विषयमा निर्णय लिने भनेर छलफलका लागि बसेको पदाधिकारी बैठकमा केही प्रस्तावहरू आएको र सुझाव राख्ने भएको सहमहामन्त्री बद्री पाण्डेले बताए। केन्द्रीय समिति बैठक बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

प्रकाशित: १० श्रावण २०८० ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App