सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा दिउँसाे १ बजे प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ ।
मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको डिएसपी श्यामकृष्ण अधिकारीले बताए ।
उनका अनुसार अहिले स्थिति सामान्य अवस्थमा फर्किए पनि मतदान भने अवरुद्ध भएको छ र केही समयमा नै पुनः सुचारु हुनेछ ।
त्यस्तै जिल्लाको भिमटार केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको छ । अशक्त व्यक्तिको नाममा सहयोगीले भोट हालेको विषयमा उत्पन्न भएको विवाद नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो।
यी बाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तवरले मतदान भइरहको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको अनुमान छ ।
प्रकाशित: ३१ वैशाख २०७४ ०७:५६ आइतबार