१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गरुडा नगरपालिकामा तालाबन्दी

गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।

नगर परिषद्कै दिन उपप्रमुख पुनमकुमारी चौधरीको नेतृत्वमा विपक्षीहरूले चक्का जाम गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। सोही दिनदेखि उपप्रमुख चौधरीसहित वडाध्यक्ष तथा वडा सदस्यहरूले नगरपालिका कार्यालयमा धर्ना दिँदै आएका छन्।

नगर प्रमुखले नगर सभाका बहुमत सदस्यलाई अधिकारबाट बंचित गर्दै तानाशाही रुपमा अल्पमतको  भरमा नगर सभा सम्पन्न गरेको आरोप उपप्रमुख चौधरी पक्षधरको रहेको छ। अल्पमतले गरेको नगर सभा बदर गर्नु पर्ने माग गर्दै गरुडा नगरपालिकामा गरिएको तालाबन्दी जारी रहेको छ।

उपप्रमुख चौधरीसहित ३१ नगर सभा सदस्यहरू गरुडा नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसेको दाबी गरिएको छ।

गत असार १० गतेका दिन गरुडामा रहेको कलवार धर्मशालामा आयोजना गरिएको ९ आँ नगर अधिवेशनमा नगर प्रमुख जयसवालले १५ जना सदस्यको उपस्थितमा गरेको नगर अधिवेशनमा गणपूरक संख्या नभएकोले बदर गर्नुपर्ने माग गरिएको उपप्रमुख चौधरीले बताएकी छन्।

उपप्रमुख चौधरीका अनुसार उपमेयरको संयोजकत्वमा भएको समितिको बैठक गर्न नदिएको र कार्यपालिकाको बैठकमा बजेट सम्बन्धी कुनै छलफल नै नगरी एकतर्फी रुपमा नगर प्रमुखले नगर अधिवेशन सम्पन्न गरेका हुन्।

नगरपालिकाको कार्यपालिकामा तालाबन्दी गरी बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म दर्जनौँ  मानिस धर्नामा बस्ने गरेपछि कार्यालयको काम पूर्ण रुपमा ठप्प भएको छ। तालाबन्दी र धर्नाले सर्वसाधारणको काम ठप्प भएपछि सर्वसाधारणलाई नोक्सानी भइरहेको छ।

कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेपछि नगर प्रमुख कलवार तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँल कार्यालयमा आउन नै छाडेका छन्।उता नगर प्रमुखका पक्षधरहरूले नगर अधिवेशनमा बहुमत सदस्यको उपस्थिति रहेको दाबी गर्दै आएका छन्।

प्रकाशित: १३ असार २०८० १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App