५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

तालमेलको चटारो

काठमाडौं- प्रमुख राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा तालमेल गरेका छन्। निर्वाचन आयोगले बिहीबार साँझसम्म उम्मेदवारी फिर्ता लिन दिएको समयसीमा उपयोग गर्दै दलहरू निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तालमेलमा जुटेका हुन्।

सत्तारूढ र विपक्षी दलबीच निर्वाचनमा धु्रवीकरण देखिए पनि स्थानीय अवस्थाअनुसार दलहरू एकअर्काविरुद्ध मोर्चाबन्दीमा जुटेका छन् ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केन्द्रीय तहमै तालमेलका लागि कार्यदल बनाएर गृहकार्य थालेका छन्।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केन्द्रीय तहमै तालमेलका लागि कार्यदल बनाएर गृहकार्य थालेका छन्। सोहीअनुसार निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बिहीबार साँझसम्म दिएको समयभित्र आधा दर्जन बढी स्थानमा तालमेल गरेका छन्। प्रतिपक्षी एमालेले काठमाडौं, ललितपुरसहितका केही स्थानमा उम्मेदवारी दर्ताकै समयमा तालमेल गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिमा दुई दलले चितवन, कास्की, मकवानपुर, धादिङ, दोलखासहितका जिल्लामा तालमेल गरेका छन्। एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका दुई दलले बिहीबार चितवनको भारतपुर, कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा चुनावी तालमेल गरेका हुन्।

स्थानीय असन्तुष्टिबीच कांग्रेसले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई प्रमुखमा सहयोग गरेको छ। कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका दिनेश कोइरालाको उम्मेदवारी सभापति देउवाको आग्रहमा फिर्ता लिइएको छ। उपप्रमुखमा माओवादीले कांग्रेसलाई सहयोग गर्ने सहमति छ। कांग्रेसले त्यहाँ पार्वती शाहलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

पोखरा–लेखनाथ महानगरपालिकाका मेयर कांग्रेसको भागमा परेको छ। केन्द्रीय निर्णयअनुसार माओवादी केन्द्रले प्रमुखमा दिएको उम्मेदवारी फिर्ता गरे पनि कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेको छैन। उपप्रमुखमा माओवादीलाई सहयोग गर्ने सहमति भएको छ।

कांग्रेस र माओवादीबीच मकवानपुरमा पनि तालमेल भएको छ। हेटांैडा उपमहानगरपालिको प्रमुख कांग्रेस र थाहा नगरपालिका प्रमुख माओवादीले राखेको छ। कांग्रेस प्रमुख रहेको हेटांैडा उपमहानगरपालिकामा माओवादी उपप्रमुखलाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी फिर्ता गरेको छ।

थाहा नगरपालिकामा कांग्रेसका उपप्रमुखलाई समर्थन गर्दै माओवादीले उपप्रमुखबाट उम्मेदवारी झिकेको छ।

काठमाडौं र ललितपुरमा पनि दुई दलबीच तालमेत प्रयास भए पनि साँझसम्म सहमति जुट्न सकेको छैन।

माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं र ललितपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेलका लागि प्रयास जारी रहेको जानकारी दिए। 'तालमेलका लागि छलफल भइरहेको छ तर निर्णयमा पुगेका छैनौं,' उनले भने।

दुई दलले धादिङको नीलकण्ठ नगरापालिकामा पनि तालमेल गरेका छन्। कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुखमा सहयोग गर्दै दुवै दलले आआफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।  दोलखाको भीमेश्वर नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा तालमेल गरेका छन्।

दुई दलबीच चुनावी तालमेलका लागि गठन भएको कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले म्याग्दीसहितका जिल्लामा पनि चुनावी तालमेल भएको बताए। स्थानीय आवश्यकताअनुसार दलीय तालमेलका लागि सम्बन्धित निकायलाई अधिकार दिएको जानकारी दिँदै उनले भने, 'पहिलो चरणको निर्वाचनमा मात्र होइन आवश्यकताअनुसार दोस्रो चरणको निर्वाचनमा पनि तालमेलका लागि दुई दलबीच प्रयास हुनेछ।'

दुई दलबीच प्रमुख स्थानमा चुनावी तालमेलका लागि कांग्रेस र माओवादी दुईदुई नेता सम्मिलित कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन छन्।

प्रमुख प्रतिपक्षी एमालेेले स्थानीय आवश्यकताअनुसार सबै दलसँग चुनावी तालमेल गरेको छ। एमाले काठमाडौं र ललितपुर महानगरपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको छ। दुवै महानगरको प्रमुख एमालेले लिएर राप्रपालाई उपप्रमुख दिएको छ।

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसबाहेकका दलबीच तालमेल भए पनि उम्मेदवारी दर्तापछि गठबन्धन भत्केको छ। एमालेले प्रमुख लिएर माओवादीलाई उपप्रमुख दिने समझदारी थियो। तर, माओवादीले दुवै पदमा उम्मेदवारी दिएपछि समझदारी टुटेको हो। त्यहाँ एमाले र नेपाल मजदुर किसान पार्टीबीच भने तालमेल छ। एमाले माओवादी र नेमकिपाबीच तीन/तीन वडा लिने समझदारी बनेको थियो।

दलीय सहमतिविपरीत एमालेले वडा नम्बर ४ मा उम्मेदवारी दिएपछि माओवादीले सबै ठाउँमा उम्मेदवारी दिएको छ।   

एमाले र माओवादीबीच तनहुँ र लम्जुङका सबै स्थानमा तालमेल छ। बाग्लुङका केही स्थानमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच र एक ठाउँमा कांग्रेस र माओवादीबीच पनि तालमेल भएको छ। तर अधिकांश स्थानमा कांग्रेस र एमालेबीच तालमेल बनेको छैन।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन अवस्था नरहेकाले दलहरू चुनावी तालमेलमा जुटेको दाबी गरे।

देशका विभिन्न स्थानमा एमाले र माओवादी केन्द्र, एमाले र अन्य दलबीच तालमेल भइरहेको उनले बताए। नेम्वाङले भने, 'केही अपवादबाहेक धेरै ठाउँमा कांग्रेससँग तालमेल भएको छ। दलहरूले चाहे साझा चुनाव चिह्न लिएर जान सक्नेसमेत व्यवस्था गरेका छौं।'

महिला मर्कामा

प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेल हुँदा महिला उम्मेदवार मर्कामा परेका छन्। भरतपुरबाहेकका अन्य स्थानमा चुनावी तालमेलका कारण महिला उम्मेदवार चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। कांग्रेस र माओवादी तथा एमाले र राप्रपाबीच भएका तालमेलमा महिला पछि परेका हुन्। प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवारी नदिए महिला उम्मेदवार दिनुपर्ने बाध्यात्मक अवस्था नभएपछि दलहरुले त्यसलाई  समाउँदै समीकरण बनाएका छन्।

सभापतिले लेखे पत्र

सत्ता साझेदार माओवादीसँग केही स्थानमा चुनावी तालमेल गर्ने पार्टीको सहमतिअनुसार सभापति शेरबहादुर देउवाले निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि तालमेल भएको स्थानका पार्टी नेतृत्व, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगलाई पत्र लेखर देउवाले उम्मेदवारी फिर्ताको जानकारी गराएका हुन्।

पत्रमा तालमेल भएका सबै स्थानमा कसले कसलाई समर्थन गर्ने र कुन पार्टीको कुन उम्मेदवार कायम रहने भनेर नामै उल्लेख गरिएको छ।

प्रकाशित: २२ वैशाख २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App