७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बेलका नगरको बजेट सवा ७७ करोड

नगरसभामा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत। तस्बिरः महेश्वर

उयदपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।  

बिहीबार नगपालिकाको ‘१२ औँ नगर अधिवेशन’ मार्फत नगरप्रमुख अशोक कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगर उपप्रमुख जीरा राईले आगामी वर्षको लागि अनुमानित आयव्यय प्रस्तुत गरिन्।

‘सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगरको विकासको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत नीति कार्यक्रममा नगरपालिकाले आगामी वर्षका लागि विभिन्न आधादर्जन बढी नाराहरु अघि सारेको छ। कृषि, पर्यटन, खेलकुद, अत्याधुनिक सहरी विकास पूर्वाधार बनाउँदै आगामी ५ वर्षभित्र प्रदेश १ कै उत्कृष्ट नगरपालिका बनाउने मेयर कार्कीले उद्घोष गरेका छन्। मेयर कार्कीले न्यूनतम आवश्यक्तासहितको दीगो सहरी पूर्वाधार विकास नीति अवलम्बन गर्न समग्र समृद्धि हासिल गर्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र प्राविधिक विकास गर्न सबै पक्षको दीर्घकालीन योजना अघि बढाइने नीति लिएको बताएका छन्।

नगरपालिकाले आन्तरिक राजश्व वृद्धि गर्ने प्रमुख उदेश्य लिएको नीति कार्यक्रममा कृषिलाई मुख्य आयस्रोतको माध्याम बनाउँदै उत्पादन छिटो दिएर प्रतिफल पाउने मौसमी तथा बेमौसमी खेतीबालीलाई प्राथमिक्ताका साथ प्रोत्साहन गर्दै अघि बढाइने उल्लेख छ। रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको नगरसभाले ‘कुशल कृषि अभ्यास, नगर समुन्नतिको प्रयास’ भन्ने नारा तय गरेको छ। पशुपालनतर्फ पनि उत्तिकै जोड दिएको नीति कार्यक्रममा माछा पालनलाई व्यवसायिक बनाउने अठोट लिइएको छ।

त्यसैगरी युवाहरुलाई खेलकुदतर्फ उन्मुख गराउन ‘युवा संलग्नताका साथ खेलकुदको विकास, अनुशासित खेलकुद समुन्नत नगरको विकास’ भन्ने नाया तय गर्दै युवा खेलकुद नवप्रबद्र्धन कार्य सञ्चालन गर्ने नीति अघि सारेको छ। त्यसका लागि निर्माणाधीन अधुरा खेल मैदानहरुलाई पुरा गर्ने तथा संभावित ठाउँ पत्ता लगाएर नयाँ खेल मैदानहरु बनाउन प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै अघि बढ्ने नीति लिएको छ। खेलकुदकै माध्यमबाट कुलतमा फसेका युवाहरुलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रमलाई नगरपालिकाले सञ्चालनको कार्यतालिमाभित्र समेट्ने योजना पनि नीति कार्यक्रमले समेटेको छ।

सामाजिक सुरक्षातर्फ खाद्यान्न बैंक स्थापना गरी अति विपन्न, दीर्घ रोगी र असहाय नगरबासीलाई खाद्यान्न उपलब्ध गराउने योजना पनि अघि सारिएको छ। आकस्मिक कोष परिचालन गर्ने, भूमिहीन, विपन्न, आर्थिक रुपमा पछि परेका बर्ग र समुदायलाई लक्षित गरी सुरक्षा आवास कार्यक्रम पनि सञ्चालन गर्ने नीति सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत समेटिएको छ। सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको मृत्यु भएको ३५ दिनभित्रै घट्ना दर्ता गर्नेलाई उचित पुरस्कार दिने घोषणा गर्दै नीति तथा कार्यक्रममा ‘समयमै व्यक्तिगत घट्ना दर्ता गरौँ, सेवाको सुनिश्चित्ता कायम गरौँ’ भन्ने नारा अघि सारिएको छ।

‘मौलिक भाषा, कला, साहित्य, संस्कृति जगेर्ना गरौँ, बेलकालाई पहिचानसहितको ऐतिहासिक नगर बनाऔँ’ भन्ने नाराका साथ कला, संस्कार, संस्कृति र भाषाको विकास गर्ने योजना पनि नगरसभाले नीति कार्यक्रममा समेटेको छ। नीति कार्यक्रममा श्रम रोजगार, भूमि व्यवस्थापन गर्न भूउपयोग नीति, बस्ती विकास नीतिहरु पनि अघि सारेको छ। नगरसभाले लगानी व्ववस्थापन नीति, वन वातावरण तथा विपत व्यवस्थापन नीतितर्फ पनि ध्यान दिने उल्लेख गरेको नीति कार्यक्रममा नगरलाई संस्थागत रुपमा सुदृद्ध बनाउँदै सुशासनको अनुभूति नगरबासीमा गराउने प्रत्याभूत गर्ने उल्लेख गरेको छ। आधुनिक जमानालाई पछ्याउन सूचना प्रविधितर्फ जोड दिने जनाएको नीति कार्यक्रमले सेवा प्रवाहलाई चुस्त दुरुस्त, पारदर्शी र छिटो छरितो बनाउन कर्मचारी प्रशासन पनि सक्षम, सवल र उत्तरदायी बनाउने योजना अघि सारेको मेयर कार्कीले बताएका छन्।

अधिवशेनमा उपप्रमुख राईले ७७ करोड २५ लाख १ हजार रुपैँयाको अनुमानित वार्षिक योजना प्रस्तुत गरेकी छिन्। संघ तथा प्रदेशबाट सशर्ततर्फ ४० करोड ४३ लाख ५१ हजार बजेट सुनिश्चित भएको आधारलाई टेक्दै बजेटमा नगरपालिकातर्फ ३६ करोड ८१ लाख ५० हजार अनुमान गरिएको छ। उपमेयर राईले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सुत्रमा आधारित र कार्य संपादनमा आधारित अनुदान तथा सशर्ततर्फ चालु र पुँजीगत, समपूरक र विशेष अनुदानलाई मुख्य आयस्रोत मानेकी छिन्। त्यसैगरी अत्य चालु र पुँजीगत अनुदानसँगै प्रदेशबाट प्राप्त हुने उस्तै प्रकृतिका अनुदानलाई पनि उपमेयर राईले आयस्रोत मानेकी छिन्।

संघीय समानीकरण र सशर्तलाई मुख्य आय मानेको नगरपालिकाले स्थानीय, संघ र प्रदेशतर्फको राजश्व बाँडफाँडलाई पनि सहायक आयस्रोत मानेको छ। त्यसैगरी उपमेयर राईले स्थानीय आय ४ करोड हुने अनुमान बजेटमा गरेकी छिन्। आगामी वर्ष बेलकालाई संघीय सरकारले वित्तीय समानीकरणतर्पm १२ करोड ७२ लाख, सशर्त ३१ करोड ६७ लाख, विशेष अनुदान २ करोड र समपुरक पुँजीगत १ करोड ९० लाख दिने सिलिङ पठाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले चालु वर्षभन्दा ४ करोड ४८ लाख घटी रकम संघले सुनिश्चित गरेको हुनाले आगामी वर्षको बजेटको आकार केही घटेको बताए। उनका अनुसार संघले ४८ करोड २९ लाख रुपैँयाको सिलिङ दिएकोमा आन्तरिक स्रोतको अनुमानित आम्दानी थपेर नगरसभाले आगामी वर्षको लागि सवा ७७ करोडको आयव्यय प्रक्षेपण गरेको हो।  

प्रकाशित: ८ असार २०८० ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App