काठमाडौं– वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा मंगलबार उम्मेद्वारी दर्ता भइरहेको छ ।
आयोगका सहसचिव सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि ६ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।
पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा सञ्चालन हुने निर्वाचनमा तीन ओटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भइरहेको छ ।
यसैगरी, महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३६५ गरी जम्मा २ हजार ५९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ । कुल २ हजार ५९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३९२ वडा सदस्य पदका लागि मनोनयन हुने आयोगले जनाएको छ ।
२ हजार ५९८ वडा सदस्यमा महिला, २ हजार ५९८ दलित महिला गरी ५ हजा १९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुनेछ ।
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि ६ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ । उक्त व्यवस्थालाई उम्मेद्वार, दल तथा आम मतदाताले उत्साहपूर्वक लिएको आयोगले जनाएको छ।
वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छूट दिने व्यवस्था रहेको छ ।
बिहान १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्ता बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रकाशित: १९ वैशाख २०७४ ०८:५४ मंगलबार