२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कूटनीतिक कौशलमा कमी

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन। परराष्ट्र मामिलालाई निकटबाट नियालिरहेका व्यक्तिहरूले एकपछि अर्को घटनाबाट नेपालको प्रस्तुति कमजोर रहेको प्रस्ट्याएका छन्। प्रधानमन्त्री दाहालले ६ महिनादेखि भारत भ्रमणमा जाने बताउँदै आए पनि त्यसको तयारीमा राजनीतिक र कूटनीतिक क्षेत्रले तयारी नगरेको अनुभव भएको छ।

भारतीय पक्षले आफूलाई व्यावसायिक कौशलसाथ प्रस्तुत गर्दै नेपालबाट लिनुपर्ने पक्षमा पूर्ण तयारी गरेको देखिएको छ भने नेपालले आफ्नो तर्फबाट प्रस्टसँग राख्नुपर्ने कतिपय विषयलाई वास्ता नगरेको देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन।

सबैभन्दा आँखामा बिझाउने दृश्य भनेको प्रधानमन्त्री दाहालले भारतीय समकक्षीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेट्दाखेरिको हो। दाहाल बसेको होटेल मौर्यमा आएर उनले भेट गर्नु सकारात्मक भए पनि डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा देखिएका थिए।

प्रधानमन्त्रीसँग नेपालका तर्फबाट भने उनकी छोरी गंगा दाहाल मात्र देखिन्थिन्। क्वात्रा कुराकानी नोट गरेर बसेका छन् भने नेपालका तर्फबाट यस्तो विषयमा छलफल हुँदा संस्थागत रूपमा स्मृतिमा राख्ने परराष्ट्र सचिवको उपस्थिति देखिएन। यस्ता भ्रमणमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र अन्य कूटनीतिक कर्मचारीको भूमिका देखिन्छ। तर नेपालका तर्फबाट यस्तो देखिएन। परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिति कतै पनि गणनायोग्य रहेन। नेपाल सरकारका तर्फबाट भ्रमणलाई मुलुकको भावी स्मृतिमा राख्ने काम भएन।

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री वा सचिव वा अन्य कूटनीतिक कर्मचारीलाई यस्ता बैठकमा सरिक नगराउनुको अर्थ के हो? के उनले यस्तो विषयमा कुरा गरे, जुन हाम्रो मुलुकको परराष्ट्र मन्त्रालयले अभिलेखमा राख्नुपर्ने थिएन?

यस्तो कमजोरी गर्ने दाहाल एक्ला प्रधानमन्त्री होइनन्, सबैजसो प्रधानमन्त्रीले यस्तै व्यवहार गर्दै आएका छन्। यसले नेपालको अवस्थालाई कमजोर पारेको मात्र छैन, व्यक्तिवादी प्रवृत्ति पनि देखिएको छ।

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री वा सचिव वा अन्य कूटनीतिक कर्मचारीलाई यस्ता बैठकमा सरिक नगराउनुको अर्थ के हो? के उनले यस्तो विषयमा कुरा गरे, जुन हाम्रो मुलुकको परराष्ट्र मन्त्रालयले अभिलेखमा राख्नुपर्ने थिएन?

यसले नेपालको राजनीतिक र कूटनीतिक क्षमता पूर्ण रूपमा कमजोर रहेको देखाएको छ। पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले यो स्थितिबारे नागरिकसँग भने, ‘भारतको नेपाल नीति उसको तात्कालिक आवश्यकता र विज्ञताले सामरिक सोचबाट निर्दिष्ट छ भन्ने फेरि पनि पुष्टि भएको छ। तर नेपाल इतिहासले छाडेका विवादहरूको भारी बोकेर हिँडेको छ। त्यसलाई बिसाउने कौशल पनि छैन, आत्मविश्वास पनि छैन भन्ने फेरि प्रमाणित भएको छ। यो भ्रमणले नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रमा समन्वय र सीपको विकास गर्न ढिलो भइसकेको छ भन्ने देखाएको छ।

त्यस्तै दाहालको भ्रमणमा सहभागी नेपाली सञ्चारकर्मीहरूको टोलीलाई भारतीय विमानस्थलमा जेजस्तो व्यवहार गरियो, त्यसमा पनि नेपाली पक्षबाट समन्वयको कमी भएको त देखियो नै, त्यसबारे मौन रहनु पनि आश्चर्यको विषय भएको छ। दाहालको भ्रमण दलमा रहेका सय जनाभन्दा बढीको दलबल केवल तीर्थाटनमा गएको जस्तो मात्र भान भएको छ। उनीहरूले महात्मा गान्धीको समाधिस्थलमा गरेको फोटोग्राफीलाई एउटा पर्यटकीय मूल्यका रूपमा मात्र चित्रण गरिएको छ।  

प्रकाशित: १९ जेष्ठ २०८० ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App