२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसरी प्रमाणीकरण भयो विवादास्पद नागरिकता विधेयक

नागरिकता सम्बन्धी विवाद नेपालको पुरानो हो। स्पष्ट कानुनको अभावमा लाखौं जनता नागरिकताबाट बन्चित भएका छन्। लामो विवादका बीच अहिलेको नागरिकता विधेयक प्रमाणीकरण भएको छ। अहिलेको नागरिकता विधेयकले अनागरिक बनेर बसेका हजारौं नेपालीले नागरिकता पाउने छन् भने विदेशी बुहारीले पनि विवाह लगत्तै नेपालको नागरिकता पाउने छन्। यो विधेयकका कतिपय प्रावधानमा विवाद छ। त्यो विवादलाई हल नगरि राष्ट्रपतिबाट यो विधेयक प्रमाणीकरण भएको छ।  

वि.सं. २०६३ सालमा बनेको नागरिकता ऐन संशोधन गरेर नयाँ नागरिकता विधेयक आएको हो। तर यो नागरिकता विधेयक लामो विवाद भएपछि २०७४ सालको प्रतिनिधि सभामा राज्यव्यवस्था समितिले मतदानबाट टुंगाइ संसद्मा पेश गरेको विधेयक प्रतिवेदन संसद्ले पास नगरि फिर्ता लगेको थियो। फिर्ता गरेर सरकारले आफू अनुकुलमा फेरि नयाँ विधेयक दर्ता गरेर गत साउनमा प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाइएको थियो। सो समयमा राष्ट्रपति विद्यादेवी भण्डारी थिइन्। उनले त्यो विधेयक पुनर्विचारका लागि १५ बुँदे सझावसहित संसद्मा फिर्ता पठाइन्।  

तर संसद्ले उनको कुनै पनि सुझावलाई नसमेटि पुनः पारित गरेर राष्ट्रपतिकहाँ पठाएको थियो। दोस्रो पटक पठाइएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने  संवैधानिक प्रावधान भएपनि सो समयभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरि राखेकी थिइन्। मंसिर ४ गते प्रतिनिधि सभाको नयाँ निर्वार्चन भएको थियो। जस कारण यो विधेयक पुनः नयाँ संसद्मा आउनु पर्ने अवस्थामा पुगेको थियो। त्यही विधेयकलाई आठ महिनापछि नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेका छन्। 

अहिलेको नागरिकता विधेयकको नेकपा एमालेले विरोध गर्दै आएको छ। अघिल्लो संसद्मा पारित भएको विधेयक अघिल्लो संसद्कै कार्यकालमा प्रमाणीकरण हुनुपर्ने तर प्रमाणीकरण नभई रोकिएको यो विधेयकलाई फेरि प्रमाणीकरण गर्नुपरेमा मन्त्रिपरिषद्को सिफारिसको आधारमा नभइ नयाँ संसद्बाट पारित भएर जानुपर्छ भन्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ।  

तर नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले जेठ १२ गते नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध नै गरेको थियो। राष्ट्रपति कहाँ रोकिएको विधेयकलाई सरकारले प्रमाणीकरणको लागि सिफारिस गर्ने कुरा संविधानमा उल्लेख छैन।  

यद्यपी विवादित यस विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन रााष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। आज दिउँसो १ बजे प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणको लागि जाँदै छन्। 

प्रकाशित: १७ जेष्ठ २०८० ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App