७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

द्वन्द्वपीडितलाई गणतन्त्र ‘हर्ष न विस्मात !’

सन्दर्भ: गणतन्त्र दिवस

सहिद भुवनकी आमा फुर्की बुढा। बेपत्ताकी पत्नी शीतली घर्ती।

सरकारले सार्वजनिक बिदा दिएर देशैभर हर्षोल्लासपूर्वक दीप बालेर पन्ध्रौं गणतन्त्र दिवस मनाइरहँदा रोल्पाका सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग, हिंसापीडितका घरमा चुलो बल्न हम्मेहम्मे छ।

मुलुकमा १० वर्षसम्म चलेको हिंसात्मक द्वन्द्वले धेरैको घर उजाडेको मात्र छैन, मनभरि चोट दिएको छ। एउटा राजा फालेर गाउँगाउँमा सरकार पुग्ने गरी आएको संघीय लोकतान्त्रिक गणतन्त्र द्वन्द्वपीडितका लागि कागलाई बेलजस्तै देखिन्छ। संविधानमै लेखिएका मौलिक हकबाट वञ्चित व्यवस्था परिवर्तनका लागि ज्यान गुमाएकाहरूको परिवारको पीडा सुनिनसक्नुको छ।

सरकारले सार्वजनिक बिदा दिएर देशैभर हर्षोल्लासपूर्वक दीप बालेर पन्ध्रौं गणतन्त्र दिवस मनाइरहँदा रोल्पाका सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग, हिंसापीडितका घरमा चुलो बल्न हम्मेहम्मे छ।

२०५८ साल चैत १५ गते घरबाट लगेर छेउको गाउँमा गोली हानेर मारिएपछि रोल्पा नगरपालिका– ६ कोटगाउँकी मेघमाली बुढाको दुःखका दिन सुरु भए। २०५९ सालमा दाङमा पढ्ने भाइलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हिराबहादुर बुढालाई उतै कतैबाट सरकारी सुरक्षाकर्मीले बेपत्ता बनायो। पति हत्याको पीडा बोकिरहँदा सुरक्षाकर्मीले छोरा बेपत्ता बनाएपछि विक्षिप्त बनिन्।

सहिदपत्नी मेघमालीलाई देशमा गणतन्त्र आएको थाहा छैन। गणतन्त्र आएपछि उनको दैनिकी र पीडामा पनि कुनै फरक आएको छैन। ‘माओवादीले पति मारे भने सरकारी पक्षले छोरा बेपत्ता बनायो। कसलाई आफ्नो भन्नु? मेरा लागि सबै बराबर हुन्’, उनी भन्छिन्, ‘पति मार्ने चिनेको छु तर उनीहरूले जस्तो गर्न पनि त भएन।’

द्वन्द्वको तापले अति भएपछि रोल्पा राङकोटबाट दाङ झरेका शीतली घर्तीका पति जितबहादुर घोराहीमा सैनिक ब्यारेकअगाडि किराना पसल गर्थे। २०५८ मंसिर ८ मा माओवादीले सैनिक ब्यारेक आक्रमण गरेको ३ दिनपछि जितबहादुरलगायतलाई सोधपुछका लागि भन्दै ब्यारेकभित्र लगिएपछि फर्काइएन। शीतलीले पति आउने बाटो कुरेको २२ वर्ष भयो। द्वन्द्व छल्न दाङ झरेका शीतली यतिबेला कष्टकर दैनिकी बिताइरहेकी छन्।

वडा कार्यालयले ऐलानी जग्गामा बनाइदिएको घरभित्र सिरानीमाथि पतिसँगको तस्बिर झुन्ड्याएर राखेकी उनको घर एकल भत्ताको भरमा धानिएको छ। उदास अनुहार र थकित शरीर पारेकी शीतलीलाई गणतन्त्र भन्ने कुन चराको नाम हो केही थाहा छैन। राजा गएको अनि संघीयतासँगै गणतन्त्र आएको सुन्दा हैन होला भन्दै खिस्स हाँस्ने उनीसँग पेटभर खान र औषधोपचार गर्नका लागि आर्थिक समस्या छ।

द्वन्द्वको तापले अति भएपछि रोल्पा राङकोटबाट दाङ झरेका शीतली घर्तीका पति जितबहादुर घोराहीमा सैनिक ब्यारेकअगाडि किराना पसल गर्थे।

सुनछहरी गाउँपालिका-७ जेल्बाङका २२ वर्षीय भुवन बुढाको २०५९ साल माघ २९ मा घरछेउमा हत्या भएको थियो। सुरक्षाकर्मीको गोलीले छोरा मारिएपछि विक्षिप्त बनेका ९० वर्षीय मंगले बुढाको उपचार अभावमा दुई वर्षअगाडि मृत्यु भयो। लामो समय दिसापिसाब ओछ्यानमै गर्ने मंगलेलाई उपचार त परको कुरा पेटभरि खानेकुराको समस्या थियो।

 बुढेसकालको सहारा छोरो मारिनुको कारण थाहा नपाएर मंगलेको मृत्यु भएपछि उनकी पत्नी फुर्कीको बिचल्ली सुरु भएको छ। वृद्ध भत्ताका भरमा जीवन चलाइरहेकी फुर्कीलाई बाँकी जीवन चलाउन सकस भएको छ। देशमा राजतन्त्र गएको र गणतन्त्र आएको केही थाहा नपाएको यो परिवारलाई छोरो मारिनुको कारण पनि थाहा छैन। छोरो सहिद भयो भन्ने सुनेकी उनलाई सहिदको परिभाषा पनि जानकारी छैन।

२०५९ साल असोज ६ मा बारीमा हलो जोत्दै गरेका सुनछहरी गाउँपालिका गामका ४९ वर्षीय पति सुकमन कामीलाई सुरक्षाकर्मीले छिमेकी गाउँ सेरमको घुस्बाङमा लगी गोली हानेर मारेको सुनेकी ६६ वर्षीया लालमता कामीले पतिको लास भने पाइनन्।

बुढेसकालको सहारा छोरो मारिनुको कारण थाहा नपाएर मंगलेको मृत्यु भएपछि उनकी पत्नी फुर्कीको बिचल्ली सुरु भएको छ।

असोजमा पतिलाई मारे, त्यही फागुनमा प्युठान मजदुरी गर्न हिँडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए। १७ वर्षसम्म पति मारिनु र छोरो बेपत्ता पारिनुको कारणबाट बेखबर उनलाई गणतन्त्र एकादेशको कथा जस्तै छ। संघीयता, धर्म निरपेक्षता अनि गणतन्त्र नबुझेका रोल्पाका सहिद परिवारलाई न्यायभन्दा पनि परिपुरण पहिलो प्राथमिकतामा छ।

२०५५ साल फागुन २६ गते लुङ्ग्री गाउँपालिका-७ हार्जङस्थित बलबहादुर रोकाको घरमा राति १० बजेतिर खरको छानो रहेको एक घरमा बाहिरबाट चुकुल बन्द गरेर चारैतिरबाट आगो लगाइयो। स्थानीय भन्छन्, ‘नौजनालाई जिउँदै जलाएर मारेका हुन्। अनुहार कसैको नचिनिने मुढाजस्तो थियो लास त।’

एकै गाउँका बेगमबहादुर पुन, मनबहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाटे पुन, ऐभान पुन, गोपाल गिरी, तिर्खराम गिरीलाई एउटै घरमा जिउँदै जलाइएको थियो। गाउँको आफ्नो मानो खाने यी युवालाई जिउँदै किन जलाइयो भन्ने प्रश्नको उत्तर यिनका परिवारले पाएका छैनन् भने जलाइनुको यथेष्ट कारण जलाउनेले पनि दिएका छैनन्। यिनीहरूको परिवारलाई पनि गणतन्त्र प्राप्तिले छोएको छैन।

देश परिवर्तनका लागि ज्यान गुमाएका ज्ञात/अज्ञात सहिद र तिनको बलिदानले प्राप्त गणतन्त्रले केहीको जीवनस्तर सुधार गरेको भए पनि जीवन बलिदानी गरेका परिवारलाई पीडा मात्र थपिदिएको छ। ‘गणतन्त्रले के दियो भन्दा पनि यहाँका धेरै सहिद परिवारलाई गणतन्त्र आयो भन्ने नै थाहा छैन। राज्य सत्ता परिवर्तन हुनुसँग आम मानिसलाई सरोकार छैन’, पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर भन्छन्, ‘क्रान्ति र परिवर्तनले खास जनतालाई छोएन तर क्रान्ति पूरा भयो भनियो। गणतन्त्रले द्वन्द्वपीडितलाई झनै पीडा दिएजस्तो भयो। यहाँ अभ्यास नै राम्रो भएन। सीमित घेराबाट गणतन्त्र बाहिर निस्केन। सहिद परिवारलाई हर्स न विस्मात जस्तै छ। राजनीति फेरियो तर द्वन्द्वपीडितको आर्थिक अवस्था फेरिएन।’

माओवादी जिल्लास्तरीय एक नेता भन्छन्, ‘गणतन्त्र त आयो तर भुइँमान्छेका लागि आएन। द्वन्द्वपीडितका घरमा चुलो जल्न समस्या छ। द्वन्द्वपीडितहरू मानसिक रूपमा विक्षिप्त छन्। बच्चा पढाउन र उपचार गर्नसमेत गाह्रो छ।’ उनी भन्छन्, ‘नेतृत्वमा विचलन आएको छ। जनताका दुःख, पीडा, अभाव र गरिबीभन्दा भौतिक निर्माणमा सबैको चासो गयो। मानवीय विकासमा कसैले चासो दिँदैन।’ उनी सबै दलले मेरो–तेरो कार्यकर्ता र मतदाता भन्न छाडेर विपन्नलक्षित कार्यक्रम कार्यान्वयन नगर्दासम्म द्वन्द्वको घाउ बल्झिरहने बताउँछन्।

देश परिवर्तनका लागि ज्यान गुमाएका ज्ञात/अज्ञात सहिद र तिनको बलिदानले प्राप्त गणतन्त्रले केहीको जीवनस्तर सुधार गरेको भए पनि जीवन बलिदानी गरेका परिवारलाई पीडा मात्र थपिदिएको छ।

रोल्पामा मात्रै ३ हजार ३८ पीडितले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा र एक सय १६ जनाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दर्ता गराएको तथ्यांक छ। ती सबै उजुरी निवेदन यतिबेला अन्योलमा छ। उजुरी अन्योलमा भएसँगै छानबिन सबालमा के भइरहेको छ भन्नेमा समेत वास्तविक पीडितलाई अनौपचारिक रूपमा समेत जानकारी छैन। सरकारी तथ्यांकअनुसार ९ सय ६९ मृतक र ३३ बेपत्ता रहेको रोल्पाका प्रायः कुनै पनि परिवारलाई आफन्त मारिनु वा बेपत्ता पारिनुको कारण थाहा छैन।

प्रकाशित: १५ जेष्ठ २०८० ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App