८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘विषयान्तर गरी गिरोह जोगाउने प्रयास’

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिनिधिसभाका केही सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई जोगाउन राजनीतिक दलका नेताहरू लागिपरेको आरोप लगाएका छन्। नक्कली शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई छानबिनको दायरामा ल्याउनुको साटो जोगाउन प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरू लागिपरेको आरोप उनीहरूले लगाएका हुन्।  

प्राप्त प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भइसकेपछि त्यसलाई सहयोग गर्दै निष्पक्ष छानबिन गर्नुको साटो आफ्नो दलका नेतालाई जोगाउन विषयान्तर गर्ने प्रयास हुनु दुखद हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोह बचाउन चलखेल हुनु दुर्भाग्यपूर्ण भएको बताए। ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुराले विश्वजगत्मा नेपालको शिर निहुरिएको छ,’ उनले भने, ‘दोषीलाई कडा कारबाही गर्नुको साटो उम्काउने उपायको खोजीमा दलहरू लाग्नु दुर्भाग्यपूर्ण छ।’ निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले आग्रह गरे।  

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नक्कली भुटानी शरणार्थीलाई जोगाउन तीन दल कांग्रेस, एमाले र माओवादीको बैठक बसेको त होइन भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।  

कांग्रेस सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिनमा राज्य कठोरतापूर्वक उत्रिनुपर्ने बताए। ‘अहिले भुटानी शरणार्थीको फाइल खोलिएको छ, यसलाई निष्कर्षमा पुर्याउनुपर्छ,’उनले भने, ‘भ्रष्टाचारविरुद्ध राज्यले फाइल मात्र होइन, कडा कारबाही पनि गर्नुपर्छ।’  

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गर्ने गिरोहमा जो भए पनि कारबाही हुनुपर्ने बताए।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरिन्। केही दिनअघि बैठकमा भुटानी शरणार्थी प्रकरणको अडियोमाथि अनुसन्धान माग गर्दै सांसद राणाले महिलाहिंसा भएको गुनासो गरेकी थिइन्। सांसद कार्कीले भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो, टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिलाहिंसा भयो। मलाई उत्तर दिनुपर्यो। भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भ्रष्टाचारी मात्र होइन, यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ। अपराध भएको छ, कारबाही हुनुपर्छ।’

जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनुले थप आशंका उब्जिएको बताए। सांसद यादवले भने, ‘एमाले सचिव रायमाझीलाई पक्राउ गर्न नसके प्रहरीमाथि नै प्रश्न गर्ने ठाउँ रहनेछ। उनी दोषी छैनन् भने किन लुकेर बसेका छन्? लुक्नु भनेको यसमा कुनै न कुनै संलग्नता छ भन्ने हो। उनका छोरा पक्राउ पर्नुले यसले थप बल पुगेको अवस्था छ।’ नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।  

एमालेका सांसद ठाकुरप्रसाद गैरेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपित संसद् बैठकमा बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरे। सांसद गैरेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम राष्ट्रघात र देशद्रोही भएको बताए। ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल्ने वा भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो। यो भष्ट्राचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो। देशद्रोही काम हो,’ उनले भने, ‘त्यसकारण यस्तो काममा संलग्नहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ।’  

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन्। जनताले वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै उनले अपराधीलाई संरक्षण गर्न नहुने बताइन्। उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमै नेपालको छवि नराम्रो बनाएको बताइन्। उनले सो प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्। उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थीको अपराधलाई संरक्षण गर्नुहुँदैन। यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमै नेपालको छवि नराम्रो बनाएको छ। निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गर्दछु।’ राष्ट्रियसभा सांसद प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री, सांसद र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे। उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि सरकारलाई आग्रह गरे।

प्रकाशित: २७ वैशाख २०८० ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App