१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बयान फेर्न लगाउन राजनीतिक दबाब

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग राखेर काठमाडौंको माइतीघर मण्डलमा मंगलबार प्रदर्शन गर्दै सामाजिक अभियन्ता ।तस्बिर: प्रसन गुरुङ/नागरिक

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ। नेपाली कांग्रेसका केही नेताले पक्राउ परेकाले दिएको बयान फेर्न प्रहरीलाई दबाब दिन थालेका हुन्।

प्रहरीका अनुसार मंगलबारसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहका १० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। पक्राउ परेका गिरोहका ती सदस्यलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। उनीहरूले यो प्रकरणमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन्। राजनीतिक दलका नेतालाई मुछेर दिइएको बयान फेर्न राजनीतिक तहबाट दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनेनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानबिन प्रभावित पार्न कतैबाट दबाब आए त्यसको बेवास्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। ‘राजनीतिक दबाब थेग्न नसके अनुसन्धानमा असर पर्छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूको बलियो साथ भए मात्रै अनुसन्धान गर्ने प्रहरीको आत्मबल बढ्नेछ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार बयान परिवर्तन गर्न राजनीतिक दबाब आउन थालेकाले अनुसन्धान प्रभावित हुनसक्छ।

प्रहरीले अहिलेसम्म नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहमा संलग्न भएको आरोपमा पक्राउ गरिएका मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग बयान लिइसकेको छ। उनीहरूले यो धन्दामा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन्। यही बयान फेर्न प्रहरीलाई राजनीतिक तहबाट दबाब दिइन थालेको हो।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई नमुछ्न भन्दै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय पुगेको समाचार प्रकाशित भइसकेको छ। ‘राजनीतिक दलका माथिल्लो तहका नेताहरू नै यो प्रकरणमा मुछिएका छन्। उनीहरूविरुद्ध कागजी प्रमाण अहिलेसम्म देखिएको छैन तर पक्राउ परेकाहरूले बयानचाहिँ दिएका छन्। सरकारी वकिलको कार्यालयमा पुगेर बयान फेर्नुभन्दा प्रहरीमै फेरियो भने सहज हुन्छ भन्दै दबाब दिन थालिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने। ती अधिकृतका अनुसार पक्राउ परेकाले दिएको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ।

प्रहरीले सोमबारदेखि भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन गठित कार्यदलका संयोजक र सदस्यहरूको बयान लिन थालेको छ। सोमबार कार्यदलका संयोजक बालकृष्ण पन्थी र मंगलबार गणेश केसीको बयान लिइएको छ। उनीहरूले अहिले बाहिर आएको प्रतिवेदन कार्यदलको नभएको र कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन अर्कै भएको बयान दिएका छन्। उनीहरूले नक्कली भुटानी बनाएर अमेरिका पठाइदिने धन्दामा आफूहरूको कुनै संलग्नता नभएको र कसैको प्रलोभनमा पनि नपरेको बयान दिएका छन्।

‘प्रहरीले प्रतिवेदन देखाएको थियो तर त्यो प्रतिवेदन हामीले तयार गरेको होइन भन्यौं,’ परिसरबाट बयान दिएर बाहिर निस्कने क्रममा कार्यदलका सदस्य केसीले भने। उनका अनुसार ४२९ जना शरणार्थीबाहेक एक जनालाई पनि थप गर्ने ठाउँ नभएको प्रतिवेदन कार्यदलले बुझाएको थियो। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने क्रममा दीपकप्रसाद न्यौपानेलाई पनि बोलाएको छ। प्रहरीले अनुसन्धानका क्रममा धेरै व्यक्तिलाई पक्राउ गर्नुपर्ने जनाएको छ।

अहिलेसम्म २० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहितका आरोपित फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाबाहेक एमाले सचिव रायमाझीका अतिरिक्त तत्कालीन गृहमन्त्री खाण, उनकी पत्नी मञ्जु खाण, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी सांसद आरजु राणालगायतको नाम मुछिएको छ। पूर्वगृहमन्त्री खाण, उनकी पत्नी मञ्जु र आरजुले भने यो विषयमा आफ्नो संलग्नता नभएको र अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताएका छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले अनुसन्धान सूक्ष्म ढंगले भइरहेको, दोषी देखिएका र प्रमाण पुगेका सबैलाई मुद्दा चलाइने बताए। ‘तथ्य र प्रमाणका आधारमा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइन्छ,’ कार्कीले भने।

थप दुई  जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले मंगलबार दुईजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो। यी दुवैजना सर्वसाधारणबाट पैसा उठाउने बिचौलिया रहेको प्रहरीको दाबी छ। ‘गिरोहका सदस्यले दाङ, अर्घाखाँची, सल्यान, झापा, मोरङ, सुनसरी, बागलुङ, गोरखा, कास्की, प्युठान, म्याग्दी, बाग्लुङलगायत जिल्लामा पुगेर शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै रकम असुलेको पाइएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

अहिलेसम्म २० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

भुटानबाट विस्थापित भई आएका १ लाख १३ हजारभन्दा बढी शरणार्थी नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पुनर्बासमा गइसकेका छन्क। तेस्रो देश जान अनिच्छुक ६ हजार ३ सय ६५ जनालाई नेपालमै कार्य सहमति दिने विषय अघि बढेको थियो। गिरोहका सदस्यले नेपालमा रहेका यिनै शरणार्थीका नाममा विदेश पठाइदिने भन्दै सर्वसाधारणबाट पैसा उठाएका हुन्। गिरोहले एक जनाबाट १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको पाइएको छ।

रायमाझीको घरमा प्रहरी छापा

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दा गर्ने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको घरमा मंगलबार प्रहरीले छापा मारेको छ। सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो।

प्रहरीले रायमाझीविरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। सोही दिन साँझदेखि उनी फरार छन्। प्रहरीले रायमाझी भारतको गोरखपुर वा लखनउ भएको आशंका गरेको छ। प्रहरीले बुधबार साँझ उनका छोरा सन्दीप रायमाझीलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।

प्रहरीलाई सघाउन रायमाझीलाई दबाब

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीले अनुसन्धानमा प्रहरीलाई सघाए राम्रो हुने निष्कर्ष निकालेको छ। एमाले सचिवालयको मंगलबार बसेको बैठकले रायमाझीलाई फरार हुनुको साटो प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन दिने निर्णय गरेको हो। उनले प्रहरीलाई सहयोग गरेमा सत्यतथ्य पत्ता लगाउन सहज हुने भएकाले सोहीअनुसार गर्न निर्देशन दिने निर्णय भएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीले अनुसन्धानमा प्रहरीलाई सघाए राम्रो हुने निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीसँग गुरुङले विधिपूर्वक गरिने अनुसन्धानलाई एमालेले सघाउने बताए। ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन, दोषी ठहर भइसकेको छैन, अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ। यस्तो विषयमा उहाँ (रायमाझी) ले प्रहरीलाई सहयोग गर्दा राम्रो हुन्छ,’ एमाले उपमहासचिवसमेत रहेका गुरुङले भने। पार्टीभित्र रायमाझीलाई कारबाही गर्न, निलम्बन गर्न दबाब बढिरहेको बेला सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित: २७ वैशाख २०८० ००:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App