३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीमा कांग्रेस–माओवादी मिलेर सरकार बनाउने तयारी

प्रदेशमा बदलिँदै सरकार

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मंगलबार दलहरूलाई आह्वान गरेका हुन्। उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्ने प्रावधान छ। यसअघि पुस २५ गते नेकपा माओवादी केन्द्रको समर्थनमा एमाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन भएको थियो। माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले गत शनिबार पुनः विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव राखेका थिए। सभाले विश्वासको मत नदिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको हो।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका हुन्। अब दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुपर्नेछ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मिति २०८० वैशाख १४ गते बिहीबार दिनको १६ः०० बजेभित्र सरकार गठन गर्न प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूले आह्वान गर्नुभएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।’ गण्डकी प्रदेशमा सरकार गठनका लागि बहुमत पु¥याउन दुई वा दुई भन्दा बढी दल मिल्नुपर्ने बाध्यता छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका दुई र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्। अब नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठन गर्ने तयारी छ। नेकपा एकीकृत समाजवादीका राजीव गुरुङले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताइएको छ। त्यसो भएमा सहजै सरकार गठन हुने देखिन्छ।

प्रकाशित: १३ वैशाख २०८० ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App