गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव राखेका थिए।
माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रीय सत्तामा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि गण्डकी प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।
मुख्यमन्त्री अधिकारीलाई दिएको विश्वासको मत चैत १० गते फिर्ता लिँदै माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। अधिकारीले ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो। प्रस्तावको पक्षमा उनको पार्टी एमालेका २२ र राप्रपाका २ सांसद उभिए। नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) प्रस्तावको विपक्षमा उभिएपछि मुख्यमन्त्री अधिकारीको विश्वासको मत लिने प्रयास असफल भएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।
प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै मुख्यमन्त्री अधिकारीले संघीय सत्तामा आएको बदलावका कारण प्रदेशमा विभाजित नहुन आग्रह गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनले आफूलाई मुख्यमन्त्रीमा दिएको विश्वासको मत अकारण फिर्ता लिइएको गुनासो गरे। उनले संघीयता बलियो बनाउन तथा स्थिरता र समृद्धिका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
अधिकारीले जनताले स्थिरता चाहे पनि अस्थिर स्वाभावका राजनीतिक दलका नेताले आफ्नो स्वार्थलाई सर्वोपरि ठान्दा देशमा अस्थिरता निम्तिन लागेको बताए।
राजनीतिक स्वार्थकै कारण एमालेसँगको गठबन्धन माओवादीले तोडेको आरोप लगाउँदै उनले भने, ‘राजनीतिक नैतिकता बिर्सेर जसरी पनि सत्तामा पुग्ने सोचका कारण माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोडेको छ।’ उनले आफूले स्वार्थकेन्द्रित राजनीतिक प्रवृत्तिलाई किमार्थ उचित नठान्ने बताउँदै भने, ‘भविष्यमा यस किसिमको प्रवृत्ति नदोहोरियोस्।’
प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै मुख्यमन्त्री अधिकारीले संघीय सत्तामा आएको बदलावका कारण प्रदेशमा विभाजित नहुन आग्रह गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको कुराले आफूलाई छोइरहेको उनले बताए। उनले नेपालमा छिमेकी वा अन्य राष्ट्रको प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव परेको तथ्यले देखाएको दाबी गरे। राजनीतिक अस्थिरताले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र संघीय लोकतान्त्रिक व्यवस्थामा नै गम्भीर चुनौती उत्पन्न भएको पनि उनले बताए।
‘नेपालमा विदेशीको चलखेल बढिरहेको छ। सरकार बनाउने र गिराउने काममा उनीहरूको प्रत्यक्ष हस्तक्षेप भएको छ’, अधिकारीले भने।
अधिकारीले आफू नेतृत्वको सरकारले छोटो समयमा पनि समृद्धि, सुशासन कायम गरी प्रदेशलाई अब्बल बनाउने योजना अघि सारेको दाबी गरे उनले पुँजीगत खर्च बढाउने प्रयास गरेको पनि उनले बताए।
व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको कुराले आफूलाई छोइरहेको उनले बताए। उनले नेपालमा छिमेकी वा अन्य राष्ट्रको प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव परेको तथ्यले देखाएको दाबी गरे।
प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रकै कारण आफूहरूले अधिकारीलाई दिएको विश्वासको मत फिर्ता लिएको स्पष्ट पारे। ‘केन्द्रको रापताप त प्रदेशमा पर्ने नै भयो।
एउटै क्याबिनेटका मन्त्रीले संघीयताको विरोध गरेको टुलुटुलु हेरेर बस्दा मन पोलेको थियो। त्यसलाई एमाले अध्यक्ष ओलीले पनि मलजल गर्नुभयो। त्यसैले एमालेलाई छाडेर ठिकै गरिएछ भन्ने अहिले लागिरहेको छ’, उनले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा संसद् विघटन गर्नु ठीक थियो र आगामी दिनमा पनि विघटन हुन सक्ने बताएपछि आफूहरूले गठबन्धन फेरेको बताए। ‘जनयुद्ध दिवसलाई हिंसा दिवस भन्ने पार्टी र तिनका नेतासँग सहकार्य कसरी गर्ने?’ उनको प्रश्न थियो।
एउटै क्याबिनेटका मन्त्रीले संघीयताको विरोध गरेको टुलुटुलु हेरेर बस्दा मन पोलेको थियो।
चुमानले गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भन्ने गरेका पनि खुलासा गरे। प्रदेश नामकरणका बेला तत्कालीन प्रधानमन्त्री ओलीसँग पनि परामर्श र छलफल गरौं भन्ने प्रस्ताव गर्दा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री गुरुङले अस्वीकार गरेको चुमानले बताए।
चुमानले गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भन्ने गरेकापनि खुलासा गरे।
गुरुङलाई उद्धृत गर्दै चुमानले भने, ‘उहाँ (केपी ओली) संघीयताप्रति सकारात्मक हुनु हुन्न। उहाँ प्रदेशलाई बलियो बनाउने कुरामा सकारात्मक हुनुहुन्न, उहाँलाई सोध्नै पर्दैन।’
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अहिलेको गठबन्धन प्राकृतिक भएको जिकिर गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मत मागेका दलहरूको सरकार नै उपयुक्त र प्राकृतिक हुने उनको भनाइ थियो।
प्रकाशित: १० वैशाख २०८० ००:२७ आइतबार