६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन: सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन्। उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए।

उनले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने उल्लेख गरे। सांसद दाहालले संसद् विज्ञापन एजेन्सी पनि भएको स्पष्ट बताए। उनले कोही हराएको विज्ञापन संसद्मा गर्नु नहुने जिकिर गरे।

उनले संसद्मा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरुको ध्यानाकर्षण गराएका छन्।

उनले भने ‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र बहस भएका छन्। यी वहसहरु अलि अमर्यादित छन्। अशिष्ट छन्। अराजक छन्। मैले पटक–पटक उठाउँदै आएको छु। कमसेकम संविधानको जगमा उभिएर हामीले बहस गर्नुपर्छ । छलफल गर्नुपर्छ। संसद् विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइँदैन। कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरुको जबर्जस्ती पैरवी गर्ने थलोको रुपमा पनि संसद्लाई जनताले पत्याउँदैनन् र मान्दैनन्। यहाँ बहस जसरी उठेका छन् कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा वहसहरुको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताए। उनले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे।

प्रकाशित: ६ वैशाख २०८० ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App