काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा हस्ताक्षर नगरेको ९ प्रतिशतको समूहले ‘संविधान मान्न तयार छु’ भन्छ भने संशोधन गरेर मूल प्रवाहमा ल्याउनु पर्ने बताएका छन्।
काठमाडौंमा शनिबार बिहान आयोजित कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘संविधान सभामा रहेका ९१ प्रतिशतको हस्ताक्षरमा नयाँ संविधान जारी भएको हो। ९ प्रतिशतले मात्रै हस्ताक्षर गरेको छैन। तर त्यो ९ प्रतिशतले पनि संविधान मान्छु भन्छ भने सहमतिमा संविधान संशोधन गर्नुपर्छ।’ कांग्रेस नेता सिंहले भने, ‘संविधान सभामा संघीयता र गणतन्त्र विरोधीहरू पनि रहेकाले सबैलाई मिलाएर संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्ने क्रममा आफूले भने जस्तो संविधान जारी हुन नसकेको हो।’
उनले आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्दै मुलुकमा स्थायी राजनीतिका लागि लाग्नु पर्ने बताए । संविधान जारी गर्नका लागि जनताले कांग्रेस ठूलो पार्टी बनाएर संविधानसभामा पठाएपछि कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्ने दायित्व सबैमा रहेको बताए। उनले भने, ‘यो संविधानको रक्षा गरेर कार्यान्वयन गरेर राजनीतिक स्थायित्व र विकासका लागि सक्रिय हुनुपर्छ ।’ उनले संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई चुनावमा ल्याउनु पर्ने बताए। कांग्रेस नेता सिंहले भने, ‘अब धेरै कुरा नगरेर संविधान संशोधन गर्ने । सबैलाई मिलाएर चुनाव घोषणा गरेर तोकिएको समयभित्र तीन वटा चुनाव गर्नुपर्छ।’
प्रकाशित: २३ पुस २०७३ १२:१० शनिबार