काठमाडाैं-राजधानी काठमाडौंमा नेकपा एमालेसहित ९ विपक्षी दलको शक्ति प्रदर्शन सुरू भएको छ। दिउसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट र्याली निकाल्ने पूर्व योजना अनुसार नै र्यालीहरू सुरू भएका छन्। सबै र्यालीको जमघट रत्नपार्कमा हुनेछ। रत्नपार्कमा जुट्ने मुल र्यालीको अगुवाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
‘रत्नपार्कमा मुख्य जमघट हुनेछ,’ पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले नागरिकन्युजसँग भने ‘मुल र्यालीलाई अध्यक्षले नेतृत्व गर्नुहुनेछ र सभास्थल प्रदर्शनी मार्गमा पुगेर ३ बजे सभा सुरु हुनेछ।’
अन्य ८ दलका पार्टी अध्यक्ष र एमालेका वरिष्ठ नेताहरु पनि रत्नपार्कबाटै मुल र्यालीमा सहभागी हुनेछन्।
संविधान संशोधन प्रस्तावको विरोधमा यो प्रदर्शन आयोजना गरिएको हो।
दशक यताकै ठूलो शक्ति प्रदर्शन
प्रचार विभाग प्रमुख भट्टराईले आजको शक्ति प्रदर्शन एमाले नेतृत्वमा भएको दशक यताकै ठूलो हुने दावी गरे। ‘दशक यता एमालेले ठूला प्रदर्शन गरेको छैन,’ उनले भने ‘चुनावी अभियानका बेला जस्तै यतिबेला एमालेका सबै संगठनात्मक अंगहरु सक्रिय छन्, काठमाडौंमा चुनाव पछिको यो ठूलो शक्ति परिचालन हो।’
अध्यक्षहरुले सम्बोधन गर्ने
प्रदर्शनी मार्गमा हुने सभामा एमाले अध्यक्ष ओली सहितअन्य ८ दलका अध्यक्षहरुले सम्बोधन गर्नेछन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपास् राष्ट्रिय पार्टी र मधेस समता पार्टीका अध्यक्षले सम्बोधन गर्ने छन्। एमालेबाट अध्यक्ष अोलीले मात्र सम्बोधन गर्नेछन्। साढेचार बजे सभा सकिने भट्टराईले बताए।
अस्तव्यस्त ट्राफिक
र्याली र सभाको पूर्व तयारी र जमघटका कारण उपत्यकाको ट्राफिक व्यवस्था विहान ११ बजेदेखि नै अस्थव्यस्त बनेको छ। एकलाख बढि कार्यकर्ता सडकमा उतार्ने योजना रहेको एमालेको दावी छ।
कम ट्राफिक जाम गर्ने उद्देश्यले सभास्थल प्रदर्शनीमार्ग रोजिएको एमाले नेताहरूको भनाइ छ। प्रदर्शनी मार्गमा सभा हुँदा वैकल्पिक मार्गहरू प्रयोग गर्ने सुबिधा रहेको उनीहरूको तर्क छ।
‘यति ठूलो प्रदर्शनमा सडक प्रभावित हुनेनै भयो,’ प्रचार विभाग प्रमुख भट्टराईले भने ‘ट्राफिक जामको चिन्ता हो भने, म प्रचण्ड नेतृत्वको सरकारलाई ५ लाख जनता अट्ने टुडिखेल बनाउन आग्रह गर्छु, एमाले पनि श्रमदान गर्न तयार छ।’ उनले थपे ‘अब एमालेका सभामा लाख भन्दा कम जनता हुँदैनन्, ठूलै टुडिखेल चाहिन्छ।’
प्रकाशित: २२ पुस २०७३ ०७:०३ शुक्रबार