११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

कलैयाको अधुरो हुलाकी सडक निर्माण गर्न स्थानीयहरूसँग धर्नामा बसेको पूर्व सांसद रामबाबु यादव लगायत।

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।

अधुरो हुलाकी सडक निर्माण गर्न माग गर्दै बारा –३ का पूर्व सांसद तथा जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले स्थानीयहरूसँगै धर्नामा नै बसेका हुन्।

अधुरो रहेको सडकमा गुड्ने गाडीहरूको कारणले  उडेको धुलोले सडक हिडडुल गर्न र सडक छेउका घरमा बस्न समेत नसकिने अवस्था आए पछि बाध्य भएर धर्नामा बस्नु परेको स्थानीयहरूले गुनासो गरेका छन।

अधुरो रहन गएको कलैया बजार क्षेत्र भित्रको हुलाकी सडकलाई पुरा गर्न ठेक्का समेत लागेको बर्षौ बितिसक्दा पनि सडक निर्माणमा ढिलाई मात्रै गरिदै आएकोले धुलोले धेरै सास्ती भएको गुनासो धर्नामा बसेका मध्येका एक पीडित दिनेश यादवले गुनासो गरेका छन्।

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको तीन किलोमिटर लामो सडकमा कालोपत्रे गर्नमा ढिलाई गरिए पछि धुलोले हिडडुल गर्न नसकिने अवस्थामा पुगेको  यादवले बताए।

अधुरो रहन गएको हुलाकी सडक खण्डमा घाम लाग्दा धुलो र पानी पर्दा हिल्लो हुने समस्याले कलैयावासी आजित बनेका छन्।

अधुरो रहन भएको सडकलाई निर्माण गराउन पटक पटक हुलाकी सडक आयोजना वीरगन्ज र कलैया उपमहानगरपालिकालाई भन्दा कुनै सुनुवाइ नभए पछि बाध्य भएर सडकलाई नै अवरोध गरेर धर्नामा बस्नु परेको अर्का सुनिल कुशवाहाले बताएका छन्।

अधुरो सडक निर्माणको माग गर्दै हुलाकी सडकलाई नै अवरोध गरेर स्थानीयहरूले धर्नामा बस्दा कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र हुलाकी सडक आयोजना वीरगन्जका प्रमुखले धर्नामा बसेकाहरूसँग सडक सुचारु रुपमा निर्माण हुने आश्वासन दिएर सडक सुचारु गराएका थिए।

धर्ना स्थल पुगेका कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले कलैयाको अधुरो रहन गएको सडक हुलाकी सडक वीरगन्जकै प्रमुखहरूको कारणले बन्न नसकेको आरोप लगाएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले धर्नामा बसेकाहरूको माग सम्बोधन गर्नको लागि अधुरो रहेको कलैया बजारको हुलाकी सडकको निर्माण कार्य थाल्न निर्देशन दिएको बताएका छन्।

३ं.७ किलोमिटर अधुरो हुलाकी सडकलाई निर्माण गर्नको लागि काठमाडौको सप्तकोसी जलाधार ÷ ओमसाई जेभीले लगभग २२ करोडमा ठेक्का पाएर काम नगरेको हुलाकी सडक आयोजना वीरगन्जका प्रमुख दरोमा साहले बताएका छन्।

होमनाथ गौतम सन्चालक रहेका निर्माण कम्पनीले २०७९/१०/ १ सम्ममा सडकलाई निर्माण गर्न २०७८/९/ २७ गते ठेक्का सम्झौता गरेर पनि काम नगरेको साहले बताए।

ठेकेदारले नै काम नगरि भाग्दै हितेपछि सडक अधुरो रहन गएको र त्यसलाई निर्माण सम्पन्न गराउनको लागि ठेकेदारलाई बोलाएर काम गराउन सहमति भएको साहले बताए।

२७ किलोमिटर लामो मानमत–कलैया– मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ वैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो।

पूर्व–पश्चिक महेन्द्र राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा निर्माण सुरु गरिएको हुलाकी सडकको लागि साविक सडकको मध्य भागदेखि दाया बायाँ १५/१५ मिटरसम्म स्थानीयहरूको जग्गा अधिग्रहण गरिने निर्णय गरिएको थियो।

तर कलैया बजार क्षेत्रका केही स्थानीयहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा कम भएको भन्दै सडकलाई ७.५र७.५ मिटर मै निर्माण गर्न माग राख्दै त्यसको अवरोधमा उत्रेका थिए। 

प्रकाशित: २६ चैत्र २०७९ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App