२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

सहमति जुटाउन देउवा सक्रिय, फिर्ता गराउन ओली

फाइल तस्बिरः एमाले अध्यक्ष केपी अाेली र कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति जुटाउन गरिरहेको प्रयासबाट उपलिब्ध ननिस्केका बेला सरकारको प्रमुख साझेदार नेपाली कांग्रेस दलहरूबीच सहमतिका लागि कस्सिएको छ ।

प्रदेश नं. ५ का पहाडी जिल्ला टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभ्नेसहित सातबुँदे संशोधन प्रस्ताव दर्तापछि प्रधानमन्त्री दाहालले सहमतिका लागि पटकपटक प्रमुख विपक्षी एमालेका शीर्ष नेतासँग गरेको छलफल निष्कर्षविहीन भएका बेला कांग्रेस सभापति शेरबहादुर देउवा सोही दललाई मनाउने प्रयासमा जुटेका हुन् । आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर देउवाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच करिब ४० मिनेट कुराकानी गरे । देउवाले संविधान संशोधन र निर्वाचनमा सहमति जनाउन ओलीसँग आग्रह गरेका थिए । संविधान संशोधनबारे देउवा र ओलीबीच पहिलो पटक आमनेसामने कुराकानी भएको हो । यसअघि कतै मुख्य राजनीतिक दलबीच त कतै संविधानप्रति असन्तुष्टि जनाउँदै आएका दलबीचको बैठकमा देउवा र ओलीबीच कुराकानी हुन्थ्यो ।

एमाले संसदीय दलका उपनेता नेम्बाङका अनुसार ओली र देउवाबीच राष्ट्रिय राजनीतिमा सहमति गरेर जान समान धारणा थियो । ‘भेटमा संविधान संशोधन विधेयक र निर्वाचनबारे कुराकानी भएको थियो,’ नेम्बाङले भने, ‘दलहरूबीच सहमति जुटाउन आवश्यक रहेकाले कांग्रेस–एमालेको द्विपक्षीय र माओवादीसँग गरी त्रिपक्षीय छलफललाई निरन्तरता दिने सहमति भएको छ ।’

सरकारले दुई साताअघि संसद् सचिवालयमा दर्ता गराएको संशोधन विधेयकमा एमालेको विरोधले छलफल हुन सकेको छैन । संविधान कार्यान्वयन गर्नुपर्ने बेला संशोधनको औचित्य नभएको भन्दै एमालेले विधेयक फिर्ता लिन माग गरिरहेको छ भने सरकारले फिर्ता लिन नसकिने बताउँदै आएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दलभित्रै पनि विधेयकबारे एक मत छैन र पनि अन्तिम समयमा मधेसवादी दलले संशोधन विधेयकमा सहमति जनाउने सरकार पक्षको अपेक्षा छ ।

आइतबारको बैठकपछि देउवा र ओली हँसिलो मुद्रामा बाहिरिएका थिए । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा बोलाएको बैठकमा नेताहरूबीच चर्काचर्की भएको थियो ।

देउवाका स्वकीय सचिव भानु देउवाले दुई नेताबीच संसद् अवरोध खुला गर्ने र संविधान संशोधनबारे सौहाद्र्रपूर्ण छलफल भएको बताए । देउवाले ओलीलाई संसद् अवरोध नगर्न आग्रह गरेका थिए । जबाफमा ओलीले संशोधन विधेयक फिर्ता लिन माग गरेको उनका सहयोगी प्रमोद दाहालले जानकारी दिए ।

‘राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानका लागि सबै विषयमा दलहरूबीच सहमति आवश्यक  छ,’ ओलीलाई उद्धृत गर्दै दाहालले भने, ‘त्यसका लागि सरकारले पहिला संशोधन विधेयक फिर्ता लिनुपर्छ भन्ने माग (ओलीले) दोह¥याउनुभयो ।’ यही मंसिर ३० गते बस्ने संसद् बैठकमा अवरोध नहोस् भनेर देउवाले प्रयास थालेको स्रोतले बतायो ।
‘कांग्रेस–एमाले समीकरण असम्भव’

देउवाले एमालेसँग भेटघाट बढाए पनि नयाँ समीकरणका लागि नभएको नेताहरूले बताएका छन् । ‘अहिले हामीलाई सरकारमा सहभागी हुन कुनै चासो छैन,’ एमाले नेता नेम्बाङले भने, ‘एमाले स्थानीय निर्वाचनको माध्यमबाट बहुमत प्राप्त गरी पाँच वर्ष निरन्तर जनताको पक्षमा काम गर्न चाहन्छ ।’

कांग्रेस नेता पूर्णबहादुर खड्का पनि तत्काल एमाले र कांग्रेसबीच सत्ता समीकरणको सम्भावना नभएको बताए । ‘माओवादीलाई अलग्याएर कांग्रेस–एमाले सत्ता समीकरण हुँदा समस्या समाधान हुनुको साटो झन् बल्झिन्छ,’ खड्काले भने, ‘त्यसैले अहिलै नै प्रमुख दुई दलबीच मात्र समीकरण बन्ने सम्भावना छैन ।’

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्तारूढ दलको सल्लाहअनुसार देउवाले विपक्षी दललाई भेट्न थालेको बताए । प्रधानमन्त्री आफैं पनि संशोधनमा सहमति जुटाउन प्रयासरत रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले आइतबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेर वर्तमान घटनाक्रमबारे जानकारी गराएको पनि आचार्यले बताए ।

प्रकाशित: २७ मंसिर २०७३ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App