२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन: उपसभापति खड्का

फाइल तस्बिर

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्।

शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए। उनले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्था अनुकुल नरहेको स्पष्ट पारे।

आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने उनले बताए। उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताए।

उनले भने, ‘महिला उम्मेदवार बाहेक उपराष्ट्रपतिमा उम्मेदवार नबनाउनु भनेको छ, यसमा काँग्रेसको मात्रै टिप्पणी भन्ने होइन, कानूनले के भनेको छ? नेपालको संविधानले के भनेको छ, फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको छ। एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ। तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति/उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरित निर्वाचन आयोगले निर्णय गरेको छ। अनलाइनहरुमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ। उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन। आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन। संविधानले स्पष्ट व्यवस्था गरेको छ। प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ। आयोगको सोचाइ, भनाइ के हो? प्रमुख आयुक्तले संविधानविपरित कुरा हुनुपर्छ भनेर बोलेको कुरा म पत्याउँदिन।’

प्रकाशित: २६ फाल्गुन २०७९ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App