२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीकाे दुई वटा गल्तीले नयाँ राजनीतिक समीकरण बन्यो : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको विश्वासघात र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा व्यक्त गरेको अभिव्यक्तिका कारण अहिलेको नयाँ राजनीतिक कोर्ष सुरु भएको बताएका छन्।

अहिलेको समीकरण बदलिनुमा एमाले अध्यक्ष ओलीले गरेका दुई वटा गल्ती मुख्य कारण भएको उनको भनाइ छ।  

‘पहिलो कारण नेकपा एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापतिलाई दिनु भएको ठूलो विश्वास र धोकाको परिणाम अहिलेको नयाँ घटनाक्रम हो,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले भने, ‘दोस्रो प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा संसदमा उभिएर ओलीले असंबैधानिक संसद विघठनलाई संबैधानिक जामा पहिर्‍याएर संसद विघठन गरेको ठिक थियो भन्नु भएकाले फेरि पनि त्यस्तै परिस्थिति आउने अवस्था सृजना हुने भएकाले अहिलेको समीकरण बनेको हो।’

उपसभापति खड्काले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकार अगाडि बढ्ने बताए। ‘दलहरु आउने–जाने होलान्, तर प्रचण्डकै नेतृत्वमा सरकार अगाडि बढ्छ,’ उनले भने, ‘यसमा दायाँबायाँ हुँदैन्।’ उपसभापति खड्काले अजेण्डा नमिलेका पार्टीहरुको मिलनबाट भएको गठबन्धन भत्किएको बताउँदै अव अजेण्डा मिल्ने प्राकृतिक गठबन्धन अघि बढ्ने बताए।

उनले एमाले–माओवादीसहितको गठबन्धन प्राकृतिक नभएकाले पनि चाँडै टुंगिएको बताए। ‘संविधानको रक्षा, संविधान लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्ने प्रतिवद्धता हामीले मतदातासँग गरेका थियौं,’ उनले भने, ‘निर्वाचनपछि केही अप्राकृतिक राजनीतिक गतिविधिहरु भए।’ उनले फेरि एक पटक प्राकृतिक गठबन्धन बनेको बताउँदै निर्वाचनमा जनतासँग गरेका बाचाहरु पूरा गरिने बताए।

उनले आफू मन्त्री नबन्ने भनेर सात वर्षअघिनै अर्घाखाँचीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको बताए। ‘जीवनमा मन्त्री बन्दैन् मन्त्री बनाउने अभियानमा लाग्छु, मन्त्री भन्दामाथि भगवान, नेपाली जनता र मतदाताको जिम्मामा छोड्छु भनेर घोषणा गरेको थिएँ,’ उपसभापति खड्काले भने, ‘त्यसपछिका पटक–पटक गठन भएका सरकारमा मलाई मन्त्री बनिदिन प्रस्ताव आएको थियौं, मैले मानिनँ।’

राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजक समितिका संयोजकसमेत रहेका खड्काले आठ दलको बीचमा सरकार गठनका विषयमा कुनै छलफल नभएको बताए। ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसैपछि मात्रै सरकार निर्माणको प्रक्रियामा प्रवेश गछौं।’  

प्रकाशित: १७ फाल्गुन २०७९ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App