काठमाडौं–एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव जसरी पनि पारित हुने बताएका छन्।
शनिबार ११ विद्यार्थी संगठनसँगको भेटमा अध्यक्ष ओलीले सार्वभौम सम्पन्न संसदले गर्ने निर्णयबाट कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने बताएको भेटमा सहभागी अनेराश्ववियूका सचिव आरसी लामिछानेले बताए।
‘अहिले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुन्छ,’ ओलीले भने,‘नेपालको संसदमा व्याक गियर हुँदैन र छैन पनि।’ महाअभियोग प्रस्तावमा कांग्रेसले हस्ताक्षर नगरेको प्रति ओलीले भने,‘महाअभियोग प्रस्तावमा मैले पनि हस्ताक्षर गरेको छैन,त्यसो भए म पनि महाअभियोगको विपक्षमा हो त?,’ उनले भने, ‘महत्वपूर्ण विषय कार्यान्वयन गर्ने विषयमा हामी सबै एकै ठाउँमा छौं। कांग्रेसले पनि महाअभियोगका पक्षमा निर्णय गर्छ।’
फरक प्रसंगमा ओलीले आफूलाई मधेसी विरोधीका रुपमा चित्रण गरिएको प्रति गुनासो गर्दै भने,‘मलाई मधेस विरोधी सिंग जुरो पलाएको रुपमा व्याख्या गरिएको छ। मैले मधेस र मधेसी जनताको पक्षमा धेरै काम गरेको छु।’ संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबाट पछि नहट्न भन्दै ११ विद्यार्थी संगठन अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। अहिलेपनि लोकमानले विभिन्न चलखेल गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको अनेरास्ववियूका सचिव आरसी लामिछानले जानकारी दिए।
प्रकाशित: ६ कार्तिक २०७३ ०७:२० शनिबार