आगामी ५ वर्षभित्र समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिका ‘आवधिक योजना’ निर्माणमा जुटेको छ। चालु आर्थिकवर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा गाउँपालिका जुटेको हो।
आवधिक योजना बनाउन गाउँपालिकाले विगतको अनुभव र वर्तमानको बस्तुस्थितिको सुक्ष्म विश्लेषण गर्न प्रत्येक वडामा सर्वपक्षीय छलफल चलाउन थालेको अध्यक्ष रबिप्रकाश राईले बताए। हिजो भए गरेका अभ्यास र त्यसबाट प्राप्त अनुभव तथा बर्तमानको धरातलीय यथार्थतालाई टेकेर भविष्यमा के गर्दा गाउँलाई दिगो विकास र समृद्धितर्फ लान सकिन्छ भन्ने कुराको गहिरो ढंगले अध्ययन गर्दै आवधिक योजना निर्माण गरिने उनले बताए।
त्यसका लागि गाउँपालिकाले सबै वडास्तरीय सामुहिक छलफल गराउन सुरु गरिसकेको पनि अध्यक्ष राईले बताए। वडास्तरीय छलफलबाट निस्केको निश्कर्ष अनुसार आवधिक योजना बनाइनेछ। त्यसका लागि गाउँपालिका अध्यक्ष संयोजक तथा उपाध्यक्ष सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहेको ३ सदस्यीय ‘आवधिक योजना निर्माण निर्देशक समिति’ पनि गठन गरिएको छ। समितिाई सहयोग गर्न बिभिन्न विषयगत समिति संयोजकहरु सदस्य रहेको छुट्टै संयन्त्र पनि निर्माण भएको छ। जसले छलफलको कार्यतालिका अनुसार बुधबारदेखि वडास्तरीय छलफल प्रारम्भ भएको छ।
पहिलो दिन वडा नं। ५ मा छलफल सम्पन्न भएको छ भने दोस्रो छलफल शुक्रबार वडा नं। २ र ३ मा र ६ गते १ र ४ नं। वडामा छलफल हुनेछ। छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा, टोल सुधार समिति, विद्यालय र वडाभित्र क्रियासिल सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतितिधिलाई सहभागी गराइनेछ। आवधिक योजना निर्माण गर्न बिभिन्न विषयगत समिति संयोजकहरु सम्मिलित संयन्त्र पनि बनाइएको छ।
आर्थिक विकास समिति संयोजक तथा १ नं। वडाध्यक्ष हेमन राई, सामाजिक विकास समिति संयोजक तथा ३ नं। वडाध्यक्ष गोविन्द तामाङ, पूर्वाधार विकास समिति संयोजक तथा २ नं। वडाध्यक्ष जितेन्द्रकुमार राई, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक तथा ४ नं। वडाध्यक्ष अर्जुनकुमार कटवाल र संस्थागत विकास तथा सुशासन समिति संयोजक तथा ५ नं। वडाध्यक्ष जीवन खत्री संयन्त्रमा छन्। संयन्त्रमा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयविज्ञ नागरिक तथा विषयगत शाखा कर्मचारीहरु सदस्य छन्।
आवधिक योजना प्रभावकारी र दीर्घकालीन महत्वको बनाउन साकेलामा जन्मेर राज्यको विभिन्न तह र तप्कामा क्रियासिल मन्त्री, सांसद, राजनीतिकर्मी, कर्मचारी, व्यवसायीजस्ता दिग्गज व्यक्तितवहरुलाई सल्लाहकार राख्ने जनाइएको छ। सबै क्षेत्र र तहतप्काको अनुभग र ज्ञानलाई समेटेर गाउँपालिकाको भविष्य उज्वल बनाउन यस्तो गर्न लागेको अध्यक्ष राईले बताए।
पहिलो दिनको छलफल उद्घाटन गर्दै अध्यक्ष राईले साकेला गाउँपालिकालाई भोलि कस्तो बनाउने भन्ने जिम्मा आफ्नै हातमा रहेको भन्दै शब्दमा मात्र नभएर व्यवहारमै गाउँपालिकालाई समृद्ध बनाउन सबैजना लागी पर्न उनको आग्रह थियो। हिजोको स्थिति र आजको बसतुगत धरातललाई हेरेर भोलि कसरी अघि बढ्दा जनता सुखी, खुसी र समृद्ध हुन्छन् भन्ने लक्ष्य प्राप्त गर्न समय निर्धारण गरेर अघि बढ्ने गरी आवधिक योजना बनाउन लागेको उनले बताए। विकसित देशहरु पैसालाईभन्दा समयलाई महत्व दिने गरेकैले अघि बढेको हुनाले समय चिनेर अघि बढ्न राईले आग्रह गरे ‘अव हामी पनि समय चिनेर अघि बढौँ त्यसो गरे गाउँपालिकालाई समृद्ध बनाउन धेरै समय नलाग्ला।’
वडास्तरीय छलफल गर्नुअघि गाउँपालिकाले मंगलबार आवधिक योजना निर्माणसम्बन्धी एकदिने ‘योजना तर्जुमासम्बन्धी अभिमुखिकरण कार्यक्रम’ आयोजना गरेको थियो। आवधिक योजना बनाउने काममा ‘सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि ९सिडिएस०’ले प्राविधिक सहयोग गरेको बताइएको छ। योजनामा आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपत्, संस्थागत विकास तथा सुशासनक्षेत्रको चौतर्फी विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको खाका तय गरिने छ।
प्रकाशित: ४ फाल्गुन २०७९ ०६:४५ बिहीबार