काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच तनाव बढिरहेका बेला बिहीबार राजधानीमा सार्क प्रभावकारिताबारे क्षेत्रीय सम्मेलन सुरु भएको छ। दुई दिन चल्ने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क बडापत्र सुधार गरिनुपर्ने बताए। व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिले सार्कको प्रभावकारिता अभिवृद्धि गर्न आयोजना गरेको गोष्ठीमा दाहालले सार्क गतिविधिको आलोचना गरे। 'सार्कको पूरै प्रक्रिया सुस्त भएको छ,' दाहालले भने, 'यसको पुनःसंरचना गर्न आवश्यक छ।'
उनले सार्क स्थापना भएको तीन दशक भइसक्दा पनि गति लिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 'सार्कको प्रभावकारिता निकै कम छ, यसमा प्रतिबद्धताअनुसार काम पनि हुन सकेको छैन,' उनले भने। प्रधानमन्त्री दाहालले सार्क देशबीच अर्थपूर्ण सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेपाली कांग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले सार्कको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तनावको कारण इस्लामाबादमा कात्तिक २४ र २५ गते आयोजना गर्ने भनिएको १९ औं शिखर सम्मेलन अन्योलमा परेको छ। भारत, बंगलादेश, भुटान र अफगानिस्तानले इस्लामाबादमा हुने सम्मेलन बहिष्कार गर्ने जनाएका छन्।
प्रकाशित: १४ आश्विन २०७३ ०१:४३ शुक्रबार