काठमाडौं—नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने दाबी गरेका छन्।‘नेपाल र भारतबीच अत्यन्तै मैत्रीपूर्ण र ऐतिहासिक छ,’ बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सम्बन्ध अहिलेदेखि होइन, प्राचीनकालदेखि नै घनिष्ठ छ।’
खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा छिमेकीलाई भारतले पहिलो प्राथमिकतामा राखेको र छिमेकी मुलुकको गरिवी अन्त्य गर्नै भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गर्नु अत्यन्तै सकारात्मक रहेको टिप्पणी समेत गरे। खड्काले भने,‘मोदीजीको अभिव्यक्तिले पनि आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुन्छ, मजबदुत हुन्छ।’
भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप वा दख्खल पुर्यायो भन्ने चर्चा यदाकदा भएपनि यसमा कुनै सत्यता नभएको खड्काले दाबी गरे। उनले थपे, ‘भारतको स्वार्थ वा चासो नेपालको आन्तरिक मामिला हुन्छ जस्तो मलाई लाग्दैन्, भारतजस्तो परिपक्व विश्वमै आर्थिक विकास हाँसिल गरेको देशले नेपालको आन्तरिक वा सानो तिनो कुरामा हस्तक्षेप गर्छ जस्तो मलाइ लाग्दैन् ।’
खड्काले नेपालको राजनीतिक परिवर्तनबारे भारतले चासो राख्नु अत्यन्तै स्वभाविक रहेको टिप्पणी गरे। उनले थपे, ‘नेपाल–भारतबीच खुल्ला सीमाना छ, त्यसैले भारतले नेपालको राजनीतिक परिवर्तनबारेमा चासो राख्नु त्यति नौलो कुरा होइन।’ आपसी असमझदारी हटाएर द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनु नै आजको आवश्यकत्ता भएको भन्दै सोही अनुरुप नेपाल र भारत अघि बढ्नुपर्ने नेता खड्काको भनाइ थियो ।
भारतले भनेबमोजिम उसले नेपालको शान्ति, स्थायित्व र समृद्धिको लागि गर्ने सकारात्मक प्रयासमा नेपालले पनि सहयोग गर्नुपर्ने खड्काले बताए। अहिले एकले अर्को देशको विरुद्ध कार्ड प्रयोग गर्ने खासगरी चाइनाविरुद्ध भारतको कार्ड अथवा भारतविरुद्ध चाइनाको कार्ड प्रयोग हुने हल्लाबारे टिप्पणी गर्दै भने,‘हामीले नेपालको कार्ड प्रयोग गर्ने हो, कुनै एउटा देशको विरुद्धमा अर्को देश प्रयोग गर्ने होइन।’
कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराईले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै अब हुने द्विपक्षीय उच्च तहको भ्रमण दुई देशको हितमा हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिए। भट्टराईले नेपाल र भारतबीच जतिसुकै असमझदारी भएपनि ऐतिहासिक सम्बन्ध भएको कारण ती असमझदारी गौण हुने धारणा राख्दै भने,‘विगतमा पनि कतिपय विषयमा असमझदारी भएकै हुन्, तर वार्ताको माध्यमबाट ती असमझदारी हटाइएको थियो, अहिले भारतको आर्थिक विकासबाट नेपालले पनि लाभ लिनुपर्छ, भारत अहिले आर्थिका विकासको एजेण्डामा अघि बढिरहेको छ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले नेपाल र भारतबीच सदियौंदेखिको सम्बन्ध भएको उल्लेख गर्दै बदलिँदो परिवेश अनुसार अब अघि बढ्नुपर्नेमा जोड दिए। साहले भने,‘भारतले नेपाललाई सानो देख्ने अनि नेपालले भारतलाई ठूलो देख्ने भन्ने जुन भावना छ, त्यसरी सोच्नुहुँदैन।’ उनले भारतको आर्थिक समृद्धिबाट नेपाललेपनि लाभ लिनुपर्ने धारणा राखे ।
साहले नेपाल र भारतबीच भएका सन्धी र सम्झौताबाट प्रतिफल नआए त्यसलाई रिभ्यु गर्नुपर्नेमा जोड दिए। उनले थपे,‘यदि सन्धिसम्झौताबाट कुनै लाभ भएन वा प्रतिफल आएन भने त्यसलाई रिभ्यू गर्नुपर्छ।’ उनले नेपाल–भारतवीच सम्पन्न भएका कतिपय ठूला परियोजनाहरु द्वैध चरित्र बोकेको समेत गुनासो पोखे।
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतलाई नेपालले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। नेता देवले भने,‘हिजो पञ्चायतकाल, प्रजातान्त्रिक काल र आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत उही नीति कसरी हुन्छ, त्यसैले अहिले हामीले दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ।’
प्रकाशित: १ भाद्र २०७३ ०८:३२ बुधबार