काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री र दाहालमात्रै रहेका थिए। दुईबीच सवा दुई घण्टा छलफल भएको थियो।
सोमबार बसेको माओवादी हेडक्वार्टर बैठकले सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएको थियो। हेडक्वार्टर निर्णय अनुसार निर्णायक बार्ता गर्ने भन्दै दाहाल साँझ प्रधानमन्त्री निवास पुगेका थिए। माओवादीले बैठकले ओली सरकारबाट बाहिरिएर भए पनि सहमतीय सरकार गठन गर्ने र त्यसको जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो। भेटमा सत्ता गठवन्धनकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए। दाहाल र प्रधानमन्त्री ओलीबीच करिव ३ घण्टा छलफल भएको थियो।
माओवादी केन्द्रका नेता मणी थापाले सरकारबाट जसरी पनि बाहिरिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्नु पर्ने माओवादी केन्द्रको धारणा रहेको बताए। 'सरकारबाट बाहिरिएर माओवादीले नेतृत्व लिनु पर्छ', उनले भने, 'त्यसो भएन भने प्रतिपक्षमा वसेर भए पनि अघि बढ्नु पर्छ।'
यस अघि अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका थिए। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग दाहालले छलफल गरेका हुन्।
प्रकाशित: २७ असार २०७३ १४:३७ सोमबार