२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषाबाट मधेश प्रदेशमा तीन पुराना,पाँच नयाँ

मधेश प्रदेशसभा सदस्यमा धनुषाबाट तीन पुरानै दोहोरिएका छन् भने पाँच नयाँ आएका छन्। यसअघिको निर्वाचनमा धनुषाबाट निर्वाचित आठ मध्ये तीनजना मात्रै यसपालिको निर्वाचनमा मतदाताको रोजाइमा परेका छन्।

नयाँ नेतृत्वको लागि मंसिर ४ गते भएको निर्वाचनबाट धनुषाका मतदाताले पाँचजनालाई फेरिदिएका छन् भने तीनजनाई फेरि प्रदेशसभामा पठाएका छन्। जिल्लामा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ। यसअघि निर्वाचित भएका आठ मध्ये सातजनाले प्रदेशसभा सदस्य पदमा दोहोरिनका लागि पुनः उम्मेदवारी दिएका थिए भने एकजनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।

दोस्रोपटक प्रदेशसभाको यात्रा सफल पार्नेहरु जनता समाजवादी पार्टीका रामअशिष यादव,नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका रामसरोज यादव रहेका छन्। दोस्रोपटक प्रदेशसभामा जानबाट रोकिएकाहरु जसपाका शैलेन्द्र कुमार यादव,लोसपाका प्रमेश्वर साह, जसपाकै ज्ञानेन्द्र कुमार यादव र नेकपा एकीकृत समाजवादी शत्रुधन महतो रहका छन्। यसअघि धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को १ बाट निर्वाचित किशोरी साह कमल यो निर्वाचन प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका थिए।

०७४ सालको निर्वाचनमा धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को २ बाट माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भएका रामचन्द्र मण्डल यसपालि नेकपा एमालेबाट उम्मेदवारी दिएर दोस्रोपटक निर्वाचित भएका छन्। उनी १३ हजार ५७५ मत ल्याएर निर्वाचित हुदाँ उनको निकटम पतिद्वन्द्वी लोकतान्त्रि समाजवादीका संजय कुमार साह १० हजार ३९७ मत ल्याएर पराजित भएका छन्।

त्यस्तै निर्वाचन क्षेत्र–१ को १ बाट प्रदेशसभा सदस्यमा कांग्रेसका संजय कुमार महतो निर्वाचित भएका छन्। उनले जसपाका उम्मेदवार सुकेश्वर यादवलाई झिनो मतले पराजित गरेका छन्। महतो १० हजार ९५५ मत ल्याएर निर्वाचित हुदाँ यादव १० हजार ९४९ मत ल्याएर पराजित भएका हुन्। महतो मात्र ६ मतको मतान्तरले निर्वाचित भएका हुन्।

यसअघिको निर्वाचनमा यहाँबाट एमालेका किशोरी साह कमल निर्वाचित भएका थिए तर यसपटक उनले जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।

धनुषा–२ को १ बाट यसअघि निर्वाचित जसपाका शैलेन्द्र कुमार यादवलाई पराजित गरी एमालेका लखन दास तत्मा निर्वाचित भएका छन्। तत्मा ११ हजार ५८१ मत ल्याएर निर्वाचित हुदाँ यादव ७ हजार १२८ मत ल्याएर तेस्रो स्थानमा छन्। दोस्रोमा जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादव रहका छन्। उनले ७ हजार ४३० मत प्राप्त गरेका छन्।

धनुषा–२ को २ बाट अघिल्लो निर्वाचनमा निर्वाचित रामअशिष यादव दोस्रोेपटक निर्वाचित भएका हुन्। यादवले १० हजार ६१४ मत प्राप्त गरी निर्वाचित हुदाँ उनको निकटम पतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार श्याम कुमार यादव ९ हजार ५६६ मत ल्याएर पराजित भएका हुन्। 

धनुषा–३ को १ बाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका कांग्रेसका रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका हुन्। उनले १७ हजार २९ मत ल्याएर निर्वाचित हुदाँ उनको निकटम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार जीतेन्द्र कुमार यादवले १३ हजार ४५९ मत ल्याएर पराजित भएका हुन्।

धनुषा–३ को २ मा यसअघि निर्वाचित भएका लोसपाका प्रमेश्वर साह सुडीलाई हराउँदै एमालेका दिपेन्द्र कुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। ठाकुरले ८ हजार २२० मत ल्याएर निर्वाचित हुदाँ उनको निकटम प्रतिद्वन्द्वी साह ६ हजार ८१७ मत ल्याएर पराजित भएका हुन्।

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ को १ बाट यसअघि निर्वाचित जसपका ज्ञानेन्द्र यादवलाई हराउँदै कांग्रेस शेष नारायण यादव निर्वाचित भएका छन्। उनले १४ हजार ५५ मत ल्याएर विजयी हुदाँ उनको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोष कुमार यादव १२ हजार ६०६ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित भएका जसपाका ज्ञानेन्द्रले ८ हजार १८६ मत ल्याएर तेस्रो भएका छन्।

धनुषा–४ को २ बाट अघिल्लो निर्वाचनमा निर्वाचित शत्रुधन महतोलाई पराजित गरी एमालेका हरि नारायण महतो प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। हरिले १७ हजार ३०२ मत ल्याएर निर्वाचित हुदाँ उनको निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शत्रुधन १५ हजार ९६० मत ल्याएर पराजित भएका छन्।  

प्रकाशित: १९ मंसिर २०७९ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App