१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीमा गठबन्धनको पल्लाभारी

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने संकेत देखिएको छ। सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा ल्याएको मतलाई आधार मान्ने हो भने गण्डकी प्रदेश सभामा गठबन्धन दलहरुको बहुमत पुग्ने देखिएको हो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सिट छ। जसमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले २१ सिट जितेको छ भने प्रतिपक्षी दल नेकपा एमालेले १२ सिट जितेको छ। त्यस्तै स्वतन्त्रले १ सिट जितेको छ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले यसअघि २०७४ सालको चुनावमा समानुपातिकसमेत गरेर केवल १५ सिट मात्र जितेको थियो। तर यसपटक उसले प्रत्यक्षतर्फ नै १६ सिट जितेको छ। कांग्रेसले कास्कीमा २, गोरखामा २, मनाङमा १, लमजुङमा २, तनहुँमा २, नवपरासीमा १, मुस्ताङमा २ र बागलुङमा ४ सिट जितेको छ। 

सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र २०७४ सालमा समानुपातिकसहित १२ सिट जितेपनि यसपटक नेसपाको १ सिटसहित कुल ५ सिटमा प्रत्यक्ष जितेको छ। माओवादीले गोरखामा २, म्याग्दीमा २ र तनहुँमा १ सिट जितेको छ। त्यस्तै, यसअघि समानुपातिकसहित २७ सिट जितेर ठूलो पार्टी बनेको नेकपा एमाले प्रत्यक्षतर्फ यसपटक १२ सिटमा खुम्चिएको छ। एमालेले कास्कीमा ४, तनहुँमा १, स्याङ्जामा २, नवलपरासीमा ३ र पर्वतमा २ सिट जितेको छ। गण्डकी प्रदेशको मनाङ–२ मा भने स्वतन्त्र उम्मेदवार राजिव गुरुङले जितेका छन्। 

प्रत्यक्षतर्फ स्याङ्जा–२ को १ र २ को मतगणना गर्न बाँकी छ। त्यहाँ एमालेले पुनः मतदान गर्न र कांग्रेसले तत्काल मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। सोहि विवादका कारण मतगणना हुन सकेको छैन। समानुपातिकतर्फ हालसम्म सबैभन्दा धेरै नेकपा एमालेले ३ लाख ४० हजार ५ सय ३३, नेपाली कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ र नेकपा माओवादी केन्द्रले १ लाख १५ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने राप्रपाले ५७ हजार १ सय १६ मत ल्याएको छ।

गण्डकी प्रदेशमा समानुपातिकतर्फ एक सिटका लागि करीब ३५ हजार मत ल्याउनुपर्ने अनुमान गरिएको छ। स्याङ्जा–२ को १ र २ को मतगणना गर्न बाँकी रहेकाले समानुपातिकमा कसको कति सिट आउँछ भनेर निक्र्यौल भइसकेको छैन।

प्रकाशित: ११ मंसिर २०७९ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App