२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकै चरणमा आज १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउने

एकै चरणमा आज (आइतबार) हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउनेछन्। जसमा ९१ लाख ४० हजार ८०६ पुरुष तथा ८८ लाख ४७ हजार ५७९ महिलाका साथै १ सय ८५ जना अन्य छन्। साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ । २०७४ सालमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकोमा १ करोड ५ लाख ९३ हजार ९७१ जनाले मतदान गरेका थिए।

चुनाव गराउन आवश्यक सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति परिचालित छन्। निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था गरिने जनाइएको छ। कुनै मतदान केन्द्रमा विवाद भए १० मिनेटभित्र पुग्न सक्ने गरी सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्थासमेत गरेको जनाइएको छ। सुरक्षा जोखिमका आधारमा गस्ती र अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ।  

यो निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र स्थापना गरेको छ।  

१४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्न पाउनेछन्। ती मतदानस्थल र केन्द्रमा हुने मतदानको भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोली, जापानको विदेश राज्यमन्त्री तकेई सुनसुकेको पाँच सदस्यीय टोलीले अवलोकन गर्नेछन्। ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २०७ तथा दुई अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले चुनावको अनुगमन गर्ने निर्वाचन आयोगले जनाएको छ। नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्नेछन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ पदका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्य खस आर्य १ हजार १७ जना छन् भने आदिवासी जनजातिको संख्या ६ सय ४१ छ। मधेसी ५०६ जना उम्मेदवार छन् भने मुस्लिम ८२ जना, दलित ९७ जना र थारू ६९ जना चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेशसभातर्फको ३३० पदका लागि ३ हजार २२४ जना प्रतिस्पर्धा गर्दैछन्। प्रदेशसभाको प्रत्यक्षतर्फ खस आर्य १ हजार ५५, आदिवासी जनजाति ९०६, थारू १००, मधेसी ८७४, मुस्लिम १४५, दलित १४४ जना प्रत्यक्षतर्फ उम्मेदवार छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App