२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

बालसाहित्यमा संस्कृति

रत्न प्रजापति

हामी संस्कृतिमा धनी छौं भनेर अझै पनि गर्व गरिरहेछौं । तर विदेशी संस्कृतिबाट अतिक्रमण बढ्दै गएकाले नेपाली संस्कृति गरीब  जाने स्थिति सिर्जना भएको छ । आफ्नै मौलिक संस्कृतिलाई उपेक्षा गर्ने र विदेशी संस्कृतिप्रति मोहित हुने प्रवृत्तिले धनी नेपाली संस्कृति गरीब हुने परिस्थिति सिर्जना भएको हो ।

विश्वव्यापी प्रविधिको विकास र विस्तार सँगसँगै हामी पनि प्रविधिको उपयोग र प्रविधि हस्तान्तरणमा अगाडि देखिने होडमा छौं । दिनदिनै नयाँनयाँ प्रविधि भित्रिएसँगै प्रविधिको उपयोगमा हामी लालायित पनि हुँदैछौं र प्रविधिसँग परिचित पनि हुँदैछौं । प्रविधिले हाम्रो जीवनशैलीमा सहजता र सरलता ल्याइदिएकाले हामी नयाँनयाँ प्रविधिप्रति निकै आकर्षित पनि छौं । साँच्चै भनौं भने हामी हरेक दिन नयाँ प्रविधिको व्यग्र प्रतीक्षामा हुन्छौं । प्रविधिको आवश्यकता र महत्वले गर्दा यस्तो भएको हो ।

संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने कार्यमा भने हामी निकै अल्छी देखिएका छौं । यसले गर्दा भोलिको पुस्ताले हाम्रो संस्कृति भुल्ने खतरा बढेको छ । यस्तो भयो भने हामी जतिसुकै आधुनिक र सभ्य भए पनि मौलिक संस्कृति र आफ्नो पहिचानको दृष्टिकोणले हामी पछाडि पर्नेछौं । अझ भन्नैपर्दा अहिलेकै जस्तो सांस्कृतिक अतिक्रमण बढ्दै जाने र हामी चुप लागेर बस्ने हो भने हामीले हाम्रो पहिचान नै गुमाउनेछौं । हाम्रो भावी पुस्ताले आफूलाई चिनाउने कुनै माध्यम नै भेट्टाउने छैनन् । हाम्रा भावी पुस्तालाई यही महत्वपूर्ण तथ्यको बोध गराउनका लागि पनि अहिलेका बालबालिकामा हाम्रो मौलिक संस्कृतिप्रति मोह जगाउनुपर्ने आवश्यकता टड्कारो बनेको छ ।  

हाम्रो मौलिक संस्कृतिको उपयोग, यसको जगेर्ना र यसको संवद्र्धनका लागि बालबालिकामा संस्कृति हस्तान्तरण गर्ने कार्यलाई हाम्रो घर, परिवार र समाज हुँदै राज्यले पनि नीतिगत रूपमै कार्यक्रम, योजना र कार्ययोजना बनाई लागु गर्नुपर्ने देखिएको छ । बालबालिकामा संस्कृति हस्तान्तरण हुनसक्यो भने हाम्रो मौलिक संस्कृति र हाम्रो पहिचान जीवन्त रहन सक्नेछ । होइन भने हाम्रो संस्कृति सङ्ग्रहालयमा सीमित हुने खतरा बढ्दै गएको छ ।  

आफ्ना बालबालिकालाई नवीनतम प्रविधिबारे जानकारी गराउन र त्यस्ता प्रविधि उपयोग गराउन हामी ग्याजेट, मोबाइल र ल्यापटप चलाउन दिन्छौं । तर आफ्नो मौलिक संस्कृति सिकाउने प्रयत्न कहिल्यै गर्दैनौं । त्यसैले हाम्रा बालबालिका प्रविधिसँग त परिचित भए, नजिक भए र प्रविधिमा पोख्त पनि भए । तर आफ्नै मौलिक संस्कृतिबाट भने उनीहरू टाढा र झन्झन् टाढा हुँदैछन् । हाम्रा बालबालिका हाम्रो संस्कृतिबाट टाढा हुनु भनेको हाम्रो संस्कृति ओझेलमा पर्नु हो, उपेक्षामा पर्नु हो । संस्कृति ओझेलमा पर्नु अथवा उपेक्षामा पर्नु भनेको लोपको संघारमा पुग्नु पनि हो । हाम्रो संस्कृति नै लोप भयो भने हाम्रो पहिचान कहाँ रहन्छ र ? अब हाम्रो पहिचानको चिन्ता हाम्रा बालबालिकालाई पनि बोध गराउने बेला भएन र ?

बच्चा आमाको पेटमा आएदेखि नै हामी अरूको संस्कृति अँगाल्ने भएका छौं । पहिलापहिला हाम्रो समाजमा गर्भवती महिलालाई दहीचिउरा अथवा खीर खुवाउने चलन थियो । अब त्यो चलनलाई सम्झने र अपनाउने थोरै नेपाली होलान् । अहिले त ‘बेबी सावर’ संस्कृति भित्रिएको छ । बच्चा जन्मिसकेपछि गर्नुपर्ने न्वारन र पास्नीमा पनि अब पश्चिमी महँगो संस्कृति भित्रिइसकेको छ । हिजो घरघरमा हुने पारिवारिक कार्यक्रम अचेल पार्टी प्यालेसमा हुन्छन् । लाखौंको खर्च गरिन्छन् । हाम्रो ‘जन्मदिन’ त ‘बर्थडे’ पो भएको छ ।

अचेलका बालबालिकालाई आफ्नो जन्मदिन थाहा हुँदैन, तर बर्थडेचाहिँ याद हुन्छ । तिम्रो जन्मदिन कहिले हो भनेर सोध्यो भने अहिलेका बालबालिका बुझ्दैनन् र भन्न सक्दैनन् । तर तिम्रो बर्थडे कहिले हो भनेर सोध्यो भनेचाहिँ रिठ्ठो नबिराई फ्याट्टै भनिदिन्छन् । यो हामीले भित्र्याएको पश्चिमी सभ्यता र संस्कृतिको प्रभावको परिणाम हो । जन्मदिन घरमै मनाइन्थ्यो भने अहिलेको बर्थडेचाहिँ पार्टी प्यालेसमै मनाउनुपर्ने भएको छ । यसले सांस्कृतिक हाससँगसँगै आर्थिक भार बढाएको छ ।

पहिलापहिला बालबालिकाको जन्मदिन सकेको दान गरेर मनाइन्थ्यो । घरकै उत्पादनबाट बनेका चिउरा, रोटी, फलफूल आदि दान गरिन्थ्यो । दान गर्नुलाई पूण्यकर्म मानिन्छ । पूण्यकर्मले आत्मसन्तुष्टि मिल्छ भन्ने हाम्रो विश्वास रहिआएको छ । अहिलेको जन्मदिनचाहिँ उपहार लिएर मनाइन्छ । दान दिएर मनाइने जन्मदिनमा उपहार लिनु हाम्रो संस्कृति होइन । हाम्रो संस्कृतिमा उज्यालोको कामना गर्दै बत्ती बालेर शुभकार्यको थालनी गरिन्छ । तर जन्मदिनमा बलेको बत्तीलाई आफैंले फुकेर निभाउने संस्कृतिलाई हामीले नै भित्र्याएका छौं । आफ्नो मौलिक संस्कृतिलाई कुल्चेर अरूको संस्कृतिलाई अन्धाधुन्ध अपनाउने हाम्रो खराब प्रवृत्तिले हाम्रो संस्कृति निरन्तर धरापमा पर्दै गएको छ ।  

हाम्रा चाडपर्वलाई पनि हामीले विर्सिंदै जान थालेका छौं । सनातनदेखि मान्दै आएको चाडपर्वलाई नमान्ने क्रिश्चियन धर्मलाई अपनाउने नेपालीको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । कतिपय अवस्थामा आर्थिक प्रलोभनले पनि धर्म परिवर्तन गरी क्रिश्चियन बन्नेहरूको संख्या बढेको छ । जेजस्तोसुकै कारणले हाम्रो आफ्नो चाडपर्व र संस्कृतिलाई बिर्सेको भए पनि त्यसले हाम्रो पहिचानलाई कमजोर बनाउँछ । सामाजिक सद्भावलाई कमजोर बनाउँछ र सामाजिक सहिष्णुतालाई कमजोर बनाउँछ । समाजमा द्वेष, कलह, वैमनष्य र शत्रुताको भावना किन बढिरहेछ ? यतातिर गहिरिएर सोच्ने बेला भइसकेको छ ।

प्रविधि हस्तान्तरणमा हामी जसरी अगाडि बढ्दैछौं, उसैगरी संस्कृति हस्तान्तरणमा पनि अघि बढ्नु अहिलेको मुख्य आवश्यकता हो । प्रविधिको उपयोगले हामीलाई अहिलेको समयसँग अद्यावधिक बन्न सहयोग गरेजस्तै संस्कृति हस्तान्तरणले संस्कृतिको जगेर्ना हुन्छ र हाम्रो पहिचान अद्यावधिक हुन्छ । त्यसैले भविष्यका कर्णधार बालबालिकामा संस्कृति हस्तान्तरण गर्न घर, परिवार, समाज र राज्यले विभिन्न उपायहरूको अवलम्बन गर्नुपर्छ ।

बालबालिकामा सानै उमेरदेखि आफ्नो संस्कृतिप्रति अभिरुचि जगाउन हरेक जातजाति र समुदायका मानिसले घरपरिवारदेखि नै प्रयास थाल्नुपर्छ । दैनिक जीवनमा प्रयोगमा आउने भाषा, वेशभूषा, खानपान लगायत हाम्रो आफ्नो तिथिमितिअनुसार हामीले मान्ने गरेका चाडपर्व, जात्रा, महोत्सव आदिका बारेमा बालबालिकालाई सिकाउने र बुझाउने गर्नुपर्छ । प्रविधिको विस्तारले विदेशी संस्कृतिको प्रसार छिटोछिटो भइरहेको सन्दर्भमा हाम्रो आफ्नो मौलिक संस्कृतिको विस्तारका लागि त्यस्तै प्रविधिको उपयोग गर्नेतर्फ पनि हामी सचेत हुनुपर्छ । टिभी र इन्टरनेटको माध्यमबाट सांस्कृतिक प्रसार छिटोछिटो भइरहेको अवस्थामा हाम्रो मौलिक संस्कृतिको प्रसारका लागि त्यस्तै प्रविधिको उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

संस्कृतिको प्रसारमा सघाउने एउटा भरपर्दो माध्यम साहित्य पनि हो । पछिल्लो समय विश्वव्यापी रूपमा विज्ञानसाहित्यको विकास भएको छ र यसप्रति आमपाठकको अभिरुचि पनि बढेको छ । बालबालिकाको हकमा पनि यही तथ्य लागु हुन्छ ।  

विज्ञानसाहित्य धेरै लेखिएका छन् । तर संस्कृतिसाहित्य लेखिएकै छैनन् अथवा थोरै लेखिएका छन् । अचेलका बालबालिकाहरूको विज्ञानसाहित्यप्रति निकै रुचि बढेको छ । विभिन्न विधि र प्रविधिबारे अनौठाअनौठा पात्रहरू सिर्जना गरेर रोचक ढंगमा लेखिएका विज्ञानसाहित्यले बालबालिकालाई आकर्षित गरिरहेको अवस्था छ । पृथ्वी, आकाश र अन्तरिक्षका बारेमा अचम्मका घटनाहरूको कल्पना गरेर लेखिएका विज्ञानसाहित्यले सबै वर्गका पाठकलाई रोमाञ्चित पार्दै विज्ञानसाहित्यको स्वाद दिलाएको छ । अनौठा कुरामा बढी चासो राख्ने बालबालिकाहरू अझ बढी विज्ञानसाहित्यमा झुम्मिने गरेका छन् ।

सांस्कृतिक प्रसार र संस्कृति हस्तान्तरण गरी आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि संस्कृतिमा आधारित बालसाहित्यको सिर्जना गरेर बालबालिकालाई आफ्नै मौलिक संस्कृतिप्रति जागरुक बनाउन सकिन्छ । साहित्यलाई पनि सांस्कृतिक प्रसार र संस्कृति हस्तान्तरणको माध्यम बनाउन सकियो भने संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नेमा विश्वस्त हुन सकिन्छ ।

बालबालिकाका लागि लेखिने साहित्यमा सांस्कृतिक पक्षलाई आधार बनाउने हो भने बालबालिकाहरू सानै उमेरदेखि आफ्नो संस्कृतिप्रति जागरूक हुनेछन् । देशका विभिन्न समुदाय र जीवनशैलीका सांस्कृतिक पक्षलाई बालबालिकाका लागि लेखिने कथा, कविता, निबन्ध वा उपन्यासमा समेट्न सकियो भने पाठकीय अभिरुचिसमेत बढ्नेछ । सधैंभरि उही एकादेशका राजकुमार, राजकुमारी, परी, पुतली, भूतप्रेत, जनावर र चराहरूलाई मात्रै पात्र बनाएर बालसाहित्य सिर्जना नगरी आफ्नै देशका विभिन्न समुदाय र जीवनशैलीका सांस्कृतिक पक्षलाई समेटेर रोचक बालसाहित्य सिर्जना गर्ने हो भने बालबालिकामा साहित्यप्रति रुचि बढ्न गई पठनसंस्कृतिको विकास र विस्तार हुनुका साथै आफ्नै संस्कृतिको जगेर्ना र त्यस्तो संस्कृति हस्तान्तरणमा ठूलो टेवा पुग्नेछ । 

विशेषगरी अहिले नियमित प्रकाशित भइरहेका ‘मुना’, ‘कोपिला’, ‘अंकुर’, ‘जूनकीरी’, ‘बालकोसेली’, ‘बालक’, ‘बालउदय’ लगायतका पत्रपत्रिकाहरूले बालपाठकहरूमा आफ्नो मौलिक संस्कृतिप्रतिको मोह जगाउन उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छन् । यस्ता पत्रपत्रिकाहरूले नियमित रूपमा संस्कृतिप्रधान अथवा संस्कृतिमा आधारित सिर्जनाहरूको प्रकाशन गर्ने हो भने पाठकीय अभिरुचि बढ्नुका साथै यसले संस्कृति हस्तान्तरणमा समेत महत्वपूर्ण टेवा पुरयाउनेमा विश्वस्त हुन सकिन्छ ।

हाम्रो संस्कृतिभित्र पनि अनौठा पात्रहरूको कल्पना गरिएका छन् । तिनै पात्रहरूलाई समेटेर विभिन्न विधाका बालसाहित्य सिर्जना गर्न सकिन्छ । गरिएका पनि छन् । अझ धेरै गर्न सकिन्छ । जीवित देवी कुमारी, लाखेनाच, देवी नाच, भैरव नाच, महाकाली नाच, कात्तिक नाच, नवदुर्गा नाच, बिस्केटजात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा, दशैं, तिहार, म्हपूजा, उँधौली, उँभौली, छठ पर्व, जितिया पर्व, रामजानकी विवाह आदि हाम्रा धार्मिक तथा सांस्कृतिक पर्वहरूका किंवदन्तीहरूलाई बालअभिरुचि र बालमनोविज्ञानअनुसारका कथा, कविता, निबन्ध र उपन्यास आदि सिर्जना गर्ने हो भने हाम्रो बालसाहित्यको भण्डार बलियो हुनुका साथै हाम्रो संस्कृतिको प्रसार र संस्कृति हस्तान्तरणमा उल्लेखनीय टेवा पुग्नेछ ।  

प्रकाशित: २५ जेष्ठ २०७७ १०:३१ आइतबार

जूनकीरी अक्षर